तारागाउँको करोडौंको जग्गामा व्यक्तिको रजाई, अध्यक्षले लिए एक्सन (पत्रसहित) « Eglish Khabarhub

तारागाउँको करोडौंको जग्गामा व्यक्तिको रजाई, अध्यक्षले लिए एक्सन (पत्रसहित)



 

काठमाडौं । तारा गाउँ विकास समितिको करोडौं पर्ने सरकारी सम्पति लामो समयदेखि व्यक्तिले प्रयोग गर्दै आएका छन् । सरकारले काठमाडौंको बौद्धस्थित वडा नम्बर-६ मा रहेको कित्ता नम्बर २२ को चार रोपनी ४ आना जग्गामा रहेका तीन वटा घरसहितको जग्गा स्थानीय जयन्ती लम्सालले प्रयोग गर्दै आएकी हुन् ।

बौद्धस्थित वडा न. ६ को सिट नम्बर १०२७-२५, कित्ता नम्बर ७२ को क्षेत्रफल २ रोपनी २ आना २ पैसा जग्गा र उक्त सिरियल नम्बर १०६७-०५, कित्ता नम्बर ४ क्षेत्रफल ८ आना जग्गामा रहेका घरहरु २०२६ सालदेखि लम्साल परिवारले प्रयोग गर्दै आएका हुन् । २०२६ सालमा सरकारले तारा गाउँ बहुउद्देश्यीय दीर्घकालीन योजनाका लागि चार किल्ला ठोकेर अधिग्रहण गरेको थियो ।

सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा सरकारले यसअघि नै उपलब्ध गराइसकेको थियो । तर, मन्दिरप्रसाद लम्सालले सर्वोच्च अदालतमा ‘जग्गा किचलो’ मुद्दा हालेका थिए । लम्सालको मुद्दामा २०६२ जेठ १९ गते सर्वोच्चले जग्गाको स्वामित्व तारा गाउँ विकास समितिको नाममा रहने घरले चर्चेको जग्गा लम्सालको भोगाधिकारसम्म कायम रहने अन्तिम फैसला गरेको थियो ।

लम्सालको भोगाधिकार अर्थात् उनको जीवनकालसम्म उनलाई दिएको थियो
तर, मन्दिरप्रसाद लम्सालको भने एक दशकअघि नै मृत्यु भइसकेको छ । लम्सालको मृत्युसँगै उनको भोगाधिकार समाप्त भएको हो । उनकी श्रीमती जयन्ती लम्सालले २०६७ सालमा ज्वाई जीवनकुमार आचार्यलाई त्यो जग्गा र घरको समस्या हेर्ने गरी वारिसनामा दिएकी छिन् ।

लम्सालले आफ्नो श्रीमानको मृत्युपछि पनि आफैले भोगचलन गर्न पाउनु पर्ने भन्दै बिभिन्न ठाउँमा निवेदन दिएकी थिइन् । तर, २०६२ जेठ १९ गते सर्वोच्चले गरेको फैसला अनुसार सो जग्गा र घरहरु स्वतः तारा गाउँ विकास समितिको स्वामित्वमा आउनुपर्ने हुन्छ । तर, अझैं पनि समितिको नाममा नआएको समितिका अध्यक्ष प्रल्हाद नेउपानेले बताए । सो जग्गामा रहेको घरको भाडा बापतको रकम करिब मासिक १० लाख आउने गरेको छ । मासिक १० लाखका हिसाबले समितिले करोडौं भाडा बापतको रकम समेत गुमाएको अध्यक्ष नेउपानेको भनाई छ ।

नेउपाने अध्यक्ष भए लगत्तै जयन्ती लम्साललाई पत्र लेखेर घर जग्गा खाली गरिदिन पत्राचार गरेका छन् । समितिले १० माघ २०७६ मा पत्र लेखेर ३५ दिनभित्र घर जग्गा खाली गरिदिन भनेको छ । तर, लम्साल र उनको परिवारले भने सोही घर जग्गा आफूलाई गराई दिन भन्दै बिभिन्न शक्ति केन्द्र धाइरहेको स्रोतको दाबी छ । अब अध्यक्ष नेउपानेको एक्सनसँगै सो घर जग्गा समितिको नाममा आउने प्रक्रिया शुरु भएको छ । तर, लम्साल परिवारले नेकपाका बिभिन्न नेताहरुमार्फत प्रक्रिया रोक्न दबाब दिइरहेका छन् ।

अध्यक्ष नेउपानले भने सो घर जग्गा अब स्वतः सरकारको हुने बताए । उनले भने, ‘सरकारी सम्पति व्यक्तिले प्रयोग गरिरहन पाउदैंन । दबाब र प्रभावले केही चल्दैन ।’

 

Publish on: