काठमाडाैं । नेपाल प्रहरीले उपत्यकाका ३ जिल्लामा निःशुल्क मास्क वितरण गर्ने भएको छ ।
मंगलबार काठमाडौंको कालोबजारी नियन्त्रणमा प्रहरीले चालिरहेको कदमका विषयमा बोल्दै महानगरिय प्रहरी आयुक्त डीआइजी विश्रराज पोखरेलले उपत्यकाका ३ जिल्लाका सर्वसाधारणलाई चरणबद्ध रुपमा मास्क वितरण गरिने जानकारी गराएका हुन् ।
पहिलो चरणमा नेपाल प्रहरी, सक्रिय पत्रकारलाई वितरण गरिने, दोस्रो चरणमा बालबालिका, अनार्थहरु मास्क वितरण गरिने पोखरेलले बताए ।
‘हिजो मात्रै नेपाल प्रहरीले ११ हजार मास्क अर्डर गरिसकेको छ, मास्क आइसकेपछि वितरण शुरु हुन्छ,’ उनले भने ।
अहिलेको स्थितिमा सरकारमा मात्र निर्भर नभई मेरो भूमिका कहाँ छ ? मैले के भूमिका निर्वाह गरिरहेको छु भन्नेमा जोड दिन आग्रह गरेका छन् । नेपाल प्रहरी भोलिका दिनमा जस्तो सुकै परिस्थिति आई परे पनि पछि नहट्ने जस्तो सुकै रिक्स लिएर पनि अघि बढ्ने उनले बताए ।
त्यस्तै कोरोनाको नाममा मौकामा कालोबजारी गर्न नहुने बताउँदै उनले त्यसका लागि सावधानीपूर्वक नेपाल प्रहरी काम गरिरहेको उनले दावी समेत गरे । अहिलेको असहज घडीमा दुई पैसा कमाउने लोभमा नलाग्न व्यापारीलाई आग्रह गरेका छन् ।
उनले कालोबजारी गर्ने सबैलाई कारबाही गरिने बताए । मास्कदेखि दैनिक उपभोग्य सामानमा कृत्रिम अभाव खडा गरेमा १ वर्ष जेल र २ लाख ५० हजार जरिवाना हुने उनले बताए ।
मास्कदेखि दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नहोस् भन्ने उद्देश्यले कालोबजारी गरेको सुचना दिने उपभोक्तालाई पुरस्कारको व्यस्वथा गरिएको पोखरेलले बताए ।
कसैको घरमा ग्यास अभावका कारण चुलो नबलेमा नेपाल प्रहरीले त्यसको व्यवस्था गरिदिने समेत उनले बताए ।
नेपाल प्रहरीले बरामद गरेको मास्क सुपथ मूल्यमा स्वास्थ्य विभागमार्फत् बिक्री वितरण गर्ने र वितरणबाट प्राप्त रकम नेपाल प्रहरीको धरौटी खातामा जम्मा गर्ने बताए ।
SHARE YOUR THOUGHTS