महानगरपालिकाले ५० शैयाको अस्पताल निर्माण गर्ने « Eglish Khabarhub

महानगरपालिकाले ५० शैयाको अस्पताल निर्माण गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ ।

महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

नीति तथा कार्यक्रममा सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल स्थापना गर्न आवश्यक पूर्वाधार व्यवस्था गर्ने, महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका संभाव्य सामुदायिक अस्पतालहरुलाई महानगरपालिकाको अस्पतालको रुपमा सञ्चालन गर्ने योजना समावेश गरेको छ ।

वरिष्ठ ज्येष्ठ नागरिकको विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निशुल्क स्वास्थ्य परीक्षण सेवालाई निरन्तरता दिने, महानगरवासीहरुको लागि स्वस्थ जीवनका लागि स्वच्छ आहार विहारको नीति अवलम्बन गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिएको छ ।

‘गुणस्तरीय एवं न्युनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रमा सञ्चालित सबै सरकारी, निजी र सामुदायिक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने संस्थागत व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ।

वडा–वडामा मृगौला जोगाउ अभियान सञ्चालन गरिने पनि उल्लेख छ ।

अर्बुद रोग लगायत अन्य दीर्घ रोगको समयमै स्वास्थ्य परीक्षण गर्न दीर्घरोग स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । कोरोना तथा अन्य सम्भावित महामारीबाट जोगिन आवश्यक निरोधात्मक उपायहरु प्रभावकारी रुपमा लागु गरिनेछ नीति तथा कार्यक्रममा रहेको छ ।

नीति तथा कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिकको लागि निमोनिया, एन्फ्लुयञ्जा तथा अन्य संक्रमणको रोकथामको लागि मनमोहन अधिकारी ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ । साथै नियमित सेवन गर्नुपर्ने उच्च रक्तचाप तथा मधुमेह सम्बन्धी औषधीहरु निःशुल्क रुपमा वितरण गरिनेछ ।

मेयर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको लागि दूर स्वास्थ्य परामर्श सेवाको शुरुआत गरिने, महानगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको कदर गर्दैे हाल पाईरहेको सेवा सुविधामा समयानुकूल पुनरावलोकन गरीे सेवालाई थप प्रोत्साहित गरिने उल्लेख छ । मदिरा, सुर्तीजन्य पदार्थ तथा जङ्कफुडको सेवनबाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जनचेतना अभिबृद्धि गरिनेछ ।

शारिरीक तथा मानसिक स्वास्थ्यको लागि योग, व्यायाम, ध्यान गर्न प्रत्येक वडाका सार्वजनिक स्थानमा विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा महानगर योग केन्द्र सञ्चालन गरिनेछ ।

नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवालाई विस्तार तथा थप प्रभावकारी बनाइनेछ । नगरवासीहरुको आधारभूत स्वास्थ्य जाँच र तत्काल परीक्षणको लागि आवश्यक उपकरण तथा चिकित्सक सहितको मोबाइल भ्यान सञ्चालन गरिने उल्लेख छ ।

महानगरवासीको स्वास्थ्य सुरक्षासँग प्रत्यक्षरुपमा सरोकार राख्ने दैनिक उपभोग्य वस्तुहरुको महानगरभित्र आपूर्ति, बिक्रि वितरण तथा गुणस्तरको उचित प्रत्याभूति दिने नीति लिईनेछ ।

महानगरपालिकाको कार्यप्रति उत्प्रेरित गरी मनोबल उच्च पार्न आगामी आर्थिक वर्षमा सबै जनप्रतिनिधि, कर्मचारी सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयमंसेविकाहरुको पूर्ण शारिरिक स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको सुरुवात गरिने नीति तथा कार्यक्रममा समावेश रहेको छ ।

Publish on: