नयाँ व्यावसाय गर्नेलाई मेगा बैंकले सस्तो ब्याजदरमा कर्जा दिन्छः सिइओ खुञ्जेली « Eglish Khabarhub

नयाँ व्यावसाय गर्नेलाई मेगा बैंकले सस्तो ब्याजदरमा कर्जा दिन्छः सिइओ खुञ्जेली



काठमाडौं । मेगा बैंक नेपाल १० बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ ।

१० औं बार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहल ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको बताए ।

यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु बैंकको महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष शाहले बताए । मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको जानकारी गराए ।

कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको दाबी गरिन ।

सिइओ खुञ्जेलीले बैंकले बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्व लगायत अन्य विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना बैंकले बनाएको बताइन । ‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै बर्षभरि नै उहाँहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १० औं बार्षिकोत्सव मनाउने योजनामा छौं’ सिइओ खुञ्जेलीले भनिन् ।

१० औं बर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको स्मरण गराइन । जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ ।

१० औं बार्षिकोत्सवको अवसरमा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरुले सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत गर्ने मेगा बैंकले विश्वास लिएको छ ।

बैंकले बितेको १० बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि गरेको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ । २०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ ।

मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Publish on: