घर जग्गा मिलाइदिन्छु भन्दै करोडौं उठाएर अपरहणको नाटक गर्ने रेग्मी होटलमा युवतीसँग भेटिए « Eglish Khabarhub

घर जग्गा मिलाइदिन्छु भन्दै करोडौं उठाएर अपरहणको नाटक गर्ने रेग्मी होटलमा युवतीसँग भेटिए



काठमाडौं । काठमाडौं चुनदेवीका शक्तिराज रेग्मीको घर व्यवहार राम्रै चलिरहेको थियो । छिट्टै पैसा कमाउने र धनी हुने उनले सपना देख्न थाले । त्यसका लागि अरु कुनै उपाय थिएन ।

काठमाडौं महानगरपालिका–४ चुनदेवी घर भएपनि परम्परागत व्यवसाय थिएन । तर जसरी भएपनि पैसा कमाउनुपर्ने मनमा हुटहुटी थियो । त्यसका लागि गैरकानूनी धन्दाको बाटो समाते । जुन कानून बर्र्जीत थियो । सोही काम गर्ने निश्कर्षमा उनी पुगे ।

रवाफ देखाएर हिँड्नुपर्ने रेग्मीले आफूले आफैलाई घर जग्गा व्यवसायी घोषणा गरे । काठमाडौंमा आफ्नै घर जग्गा होओस् भन्ने धेरैको चाहना हुन्छ । जिन्दगीभरको कमाइका रुपमा घर जग्गा जोडौं र समाजमा रवाफ देखाऔं भन्ने चाहनाले मानिसलाई सहजै त्यसतर्फ आकर्षित पनि गर्छ ।

सोही मानवीय प्रवृत्ति थाहा पाएका रेग्मीले विभिन्न व्यक्तिबाट घर जग्गा दिलाइदिने भन्दै रकम उठाएका थिए । वास्तवमै घर जग्गाको कारोबार गर्ने व्यवसायी भएको भए कुनै न कुनै स्थानमा घर जग्गा देखाउन सक्थे वा मिलाउन सक्थे ।

तर रेग्मीले सो काम गर्न सकेनन् । बरु घर जग्गा खोजीदेऊ भन्नेसँग पेसा उठाउन भने छाडेनन् । के कति रकम उठाए र बदमासी गरे भन्ने हालसम्म खुलेको छैन ।

घर जग्गा कारोबार गर्ने भन्दै विभिन्न व्यक्तिले दिएको रकम तिर्नु नपरोस् भन्दै रेग्मीले अनेकन बाहाना गर्न थाले । उनले न त घर जग्गा दिन सके न त लिएको पैसा नै फिर्ता गर्न सके । त्यसपछि उनीसँग पैसा फिर्ता गर्ने वा जग्गा दिने भन्ने बाहेक बाँकी विकल्प रहेन ।

विकल्प नै बाँकी नभएपछि रेग्मीले नयाँ फण्डा निकाले । घर परिवारलाई आफू अपहरणमा परेको भन्दै अपरिचति नम्बरबाट फोन गरे र गायब भए ।

गत असार २४ गतेदेखि हराएकोमा अपहरणमा परेको हुन सक्ने भन्ने व्योहोराको निवेदन यही साउन २ गते प्रहरीकोमा परिवारले दर्ता गर्यो ।

राजधानीबाटै दिन दहाडै नागरिक अपहरणमा परेको उजुरी आएपछि प्रहरीलाई त्यसले नराम्ररी झस्कायो । खोजबिनका लागि प्रहरी परिचालन भयो । तर अपहरणमा परे भन्दै आफन्तलाई प्रहरीमा उजुरी दिन लगाएका रेग्मीलाई नयाँ बसपार्कको एक होटलमा युवतीसँगै महानरगरीय अपराध महाशाखाले फेला पार्यो ।

साउन ६ गते प्रहरीले मोबाइल ट्रयाक गर्दा उनी काठमाडौंको गोंगबु बसपार्क आसपासमा रहेको देखायो । त्यसका लागि महाशाखाको टोलीले सुराक समेत पाएको थियो ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार मोबाइल ट्रयाक गर्दै गएको प्रहरीले उनलाई सुगन्ध होटलमा रहेको फेला पार्यो । कार्कीका अनुसार रेग्मी गत असार २४ गते आफ्नो घरबाट निस्की सम्पर्कबिहीन भई अपहरणको नाटक गरेका थिए ।

प्रहरीले नयाँ बसपार्कको सुगन्ध होटलमा युवतीसँगै बसेको अवस्थामा फेला पारेको थियो । होटलमा प्रहरी पुगेपछि रेग्मी हड्बडाएका थिए । प्रहरीले प्रारम्भिक सोधपुछमा उनी ठेगानमा आए ।

‘विभिन्न व्यक्तिसँग घर जग्गा व्यवसाय गर्छु भनी करोडौ रुपैयाँ लिएको थिएँ । पैसा तिर्नु परेपछि मैले आफै अपहरणको नाटक गरेको हुँ,’ उनको भनाइ उदृत गर्दै कार्कीले भने ।

उनले पैसा तिर्नु नपरोस् भनेर अपहरणको नाटक गरेको स्वीकार गरे । आफूले आफैलाई अपरहणको नाटक गरेको र प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेका पाइएकाले रेग्मीलाई थप कारबाहीको प्रक्रिया थालिएको प्रहरी उपरीक्षक कार्कीको भनाइ छ ।

Publish on: