काठमाडौं । के तपाई वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाई वैधानिक रुपमा नै जाने तर्फ नै लाग्नुहोला । अन्यथा तपाई ठगीमा पर्ने सम्भावना बढी रहन्छ ।
लकडाउनको समयमा समेत वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने गिरोहलाई प्रहरीले पक्राउ गरेपछि ठगी गिरोह पक्राउ परेको छ । उनीहरुले रोजगारीको खोजीमा रहेकालाई लिबिया र कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको पाइएको छ ।
लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका ९ का उद्धव घतानी र झापा मेची नगरपालिका १० बस्ने गोरे भन्ने नरबहादुर श्रेष्ठ रहेका छन् ।
घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी १ लाख ६० हजार रूपैयाँ र १ हजार अमेरिकी डलर समेत लिएको पाइएको छ ।
उनीहरुले दुबई हुँदै लिबियाको त्रिपोली पुर्याई २०७५ भदौ महिनादेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाई राखेको पाइएको छ । सो घटनाको अनुसन्धान गर्न व्यूरोबाट खटिएको प्रहरीले घतानीलाई सोमबार पक्राउ गरेको हो ।
साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुरयाई एक अपार्टमेन्टमा बन्धक बनाएको पाइएको छ ।
श्रेष्ठलाई व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका १० स्थित उनकै घरमा फेला पारी असार ७ गते पक्राउ गरेको हो । नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल ल्याइएको थियो ।
SHARE YOUR THOUGHTS