काठमाडौं । कामना सेवा विकास बैंकले यातायात व्यवसायीहरुलाई साउन महिनाको ब्याजमा भारी छुट दिने भएको छ । कोरोनाका कारण समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव परेको र यसबाट यातायात व्यवसायी पनि मारमा परेको भन्दै बैंकले व्यावसायिक प्रयोजनका लागि हायर पर्चेज कर्जा सुविधा लिएका ग्राहकलाई छुट दिने भएको हो ।
योजना अन्तर्गत यस्ता कर्जा लिएका ग्राहकले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज साउन २० गतेसम्म भुक्तानी गरेको खण्डमा साउन महिनाको ब्याजमा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको छ ।
साथै, असार महिनासम्मको साँवा तथा ब्याज असार महिनाभित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायीलाई अधिकतम लाभ पुर्याई व्यवसाय सञ्चालनमा थप सहज हुने बैंकको विश्वास छ ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी-आस्बा, अनलाइन बैंकिङलगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
SHARE YOUR THOUGHTS