काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी शुरु गरिएको छ ।
विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए ।
उनले विमानस्थलमा डिपार्चर र अराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताए ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सूचारु गर्ने निर्णय गरेको छ ।
तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन् । तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए ।
त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तीमा चार घण्टा अघि विमानस्थल पुगिसक्नुपर्नेछ । समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो ।
विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताए । विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने उनले बताए ।
देशभित्र रहेका अन्य आन्तरिक विमानस्थल पनि उडानका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ । उनले देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने स्पस्ट पारे ।
कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशिल ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका पोर्टोकल पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए ।
यस्तै यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहन समेत केसीले आग्रह गरे । उनले विमानस्थलमा कुनैपनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको समेत दाबी गरे ।
SHARE YOUR THOUGHTS