काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले गत आर्थिक वर्षमा २०७६/७७ असार मसान्त भित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको छ । जुन अघिल्लो वर्षका तुलनामा २२.२ प्रतिशतले बढी हो ।
विभिन्न भुक्तानी प्रणालीहरु मार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा नेपाली रुपैयाँमा ९६ खर्ब रुपैयाँको कारोबार भएको छ । यस्तै ३२ करोड अमेरिकी डलर,२३.८ करोड युरोको कारोबार भएको छ । राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसिएचएलको स्थापना वर्ष देखि हालसम्मको वृद्धी दर ५८.८ प्रतिशत रहेको छ । हाल एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत दैनिक औसत ३६.२ अर्ब बराबरको ७७,११५ भुक्तानी कारोबार हुने गरेका छन् ।
एनसिएचएलका एनसिएचएल,कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरटीजिएस पनि संचालन गर्दै आएको छ । विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई मार्फत हाल बैंक वित्तिय संस्था, पीएसपी पीएसओ लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ ।
यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत वर्ष २ खर्ब १९ अर्ब बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३.१२ अर्ब बराबरको राजस्व संकलन एनसिएचएलका प्रणालीहरु मार्फत भएका छन् ।
SHARE YOUR THOUGHTS