धोबीखोला किनारमा ७ करोड लगानीमा अत्याधुनिक दुई पार्क बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ ।

महानगरपालिकाले हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।

लागत अनुमान ३ करोड ३७ लाख ३८ हजार अनुमान गरिएको नरबुद्ध पार्कका निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ । उक्त पार्क प्रस्ताव आव्हानको चरणमा पुगेको वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

विहार र बुद्धको मुर्तिसहितको सो पार्कमा पोखरी, फाउण्टेन र विश्रामस्थल समेत रहने छ । उक्त पार्क अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री रहेको वडाध्यक्ष डंगोलले जानकारी दिए ।

हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिएको छ । ‘नयाँ डिजाइनमा विहारको मोहोडा परिवर्तन गरी प्राचिन शैलीमा निर्माण गरिने छ,’ डंगोलले भने ‘राजधानीको कोलाहलबीचमा पनि हामीले सकेसम्म शान्ति दिन सकियो भनेर यो पार्ककलाई नमूना बनाउने तयारी गरेका छौँ ।’ नरबुद्ध पार्कको आर्किटेक डिजाइन निर्मिता डंगोलले तयार पारेका थिए ।

उनले महानगर पार्कको भने प्रारम्भिक डिजाइन तयार भएको जानकारी दिए । महानगर पार्कको पनि लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाई छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ ।

छलफलमा सहभागी प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले थालनी गरेका कुनै पनि योजना बजेट अभावले नरोकिने प्रष्ट पारे । ‘हामीले नरबुद्ध पार्कका बारेमा धेरै चरणका छलफल सम्पन्न गरिसकेका छौँ । महानगरपार्कका बारेमा पनि स्थानीयसँग प्रारम्भिक चरणको छलफल भएको छ । तपाईँहरुका सुझावलाई समेत समेटेर निर्माण प्रक्रियामा अघि बढाउँदा पार्कमा सबैको अपनत्व हुने हामीले अपेक्षा गरेका छौँ,’ प्रमुख शाक्यले भने, ‘हामीले आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै सार्वजनिक जग्गा र खुल्ला क्षेत्रको संरक्षण गर्दै अनि हरियाली प्रबर्धन लाई ध्यानमा राखेर ३० बढी पार्क निर्माण गर्ने लक्ष्य लिएका छौँ । हरेक वडामा पार्क निर्माण गर्ने हाम्रो तयारी छ । वडा–५ मा पनि यसरी पार्क निर्माणको काम अघि बढेकोमा खुशी लागेको छ ।’

प्रमुख शाक्यले कतियपय योजनाहरु विवादका कारण अघि बढ्न नसकेको गुनासो गर्दै बजेट अभावका कारण योजना अलपत्र पर्न नदिने प्रतिवद्धता व्यक्त गरे । उनले लागत अनुसारको बजेट दिन महानगरपालिका तयार रहेको भन्दै बजेटका बारेमा चिन्ता नलिन पनि आग्रह गरे । ‘काठमाडौँ महानगरपालिकामा हामी निर्वाचित भएर आएदेखि पैसा अनुसारको योजना होइन, योजना अनुसार पैसा विनियोजन गर्नुपर्छ भन्ने मान्यता अनुसार अघि बढेका छौँ,’ उनले भने, ‘कुनै पनि योजना अधुरो नछोड्ने, कुनै पनि काम अपूरो नछोड्ने हाम्रो नीति नै छ । हामीले सुरु गरेका कुनै पनि काम अधुरो छाडेका छैनौँ । बजेट प्रयाप्त छुट्याउँदै आएका छौँ ।’

शाक्यले कतिपय अवस्थामा स्वतस्पूर्ण अझ भन्ने हो भने व्यवसायिक अभियन्ताका कारण सम्पदा निर्माण-पुर्ननिर्माणमा समस्या आउने गरेको गुनासो गरे । कतिपय अभियन्ताले त सञ्चारमाध्ययममा तस्बिर देखाउन र नाम लेखाउनका लागि पनि अवरोध सिर्जना गर्ने गरेको गुनासो उनले गरे ।

‘सबै ठाउँमा अभियन्ताका मात्रै कुरा सुन्ने हो भने धेरै संरचनाहरु निर्माण कार्यमा अवरोध हुन्छ । अभियन्ताहरुप्रति मेरो सम्मान छ । तर, कतिपय व्यवसायिक अभियन्ताले सञ्चारमाध्ययममा तस्बिर देखाउन र नाम लेखाउनका लागि मात्रै पनि अवरोध गर्ने गरेका कारण चाँहि समस्या हुने रहेछ । नरबुद्धको पनि अवस्था त्यहि नहोला भन्न सकिन्न ।’

उनले अझ काठमाडौँ महानगरपालिका र त्यसमा पनि मेयरको अगुवाईमा निर्माण हुने काममा विभिन्न बाहनामा अवरोध हुने गरेको गुनासो गरे । ‘काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने सम्पदाका विषयमा त अनावश्यक बखेडा झिकेर मेयरले सम्पदा मास्यो भनेर पुरातत्व र अदालतमा गएर उजुरी हालि हाल्ने र काम रोकिहाल्ने रोग छ,’ उनले भने, ‘म अनुरोध गर्न चाहन्छु राम्रा कामलाई सबैले साथ दिनुपर्छ । हामीले धेरै काम गर्नुछ । काठमाडौँ हामी सबैको हो । सबै मिलेर बनाऔँ । फेरि पनि मेरो अनुरोध छ ।’