काठमाडौं । विद्युतीय सामाग्री तथा स्मार्टफोन निर्माता कम्पनी सामसुङले दक्षिण कोरिया र भियतनाममा रहेको आफ्नो उत्पादन बेस भारतमा ल्याउने तयारी गरेको छ ।
सामसुङको उक्त घोषणापछि भारतमा रोजगारीको ठूलो अवसर सिर्जना हुने भन्दै खुसी प्रकट गरिएको छ । नेपालमा समेत सामसुङका विभिन्न उपकरण लोकप्रिय रहेको छ ।
सामसुङले म्यानुफ्याक्चरिङ बेस भारतमा स्थापना गर्दा नेपालमा पनि सरल मूल्यमा विद्युतीय सामग्री उपलब्ध हुन सक्ने देखिएको छ ।
छिमेकी देश भारत कोरोना कहरमा नराम्ररी डुबिरहेको बेला सामसुङले उक्त घोषणा गरेको हो । सामसुङले ३ लाख करोड भारतीय रुपैयाँ बराबरको स्मार्टफोन उत्पादनको प्रस्ताव गरेको छ ।
सामसुङले यसअघि त्यस्ता बेस भियतनाम र दक्षिण कोरियामा नै रहेको थियो । व्यापार विविधकरण तथा लगानीको विविधताका लागि बढी जनसंख्या भएका देशमा उत्पादन बेसहरुको विस्तारमा सामसुङ जुटेको छ ।
इकोनोमिक टाइम्सका अनुसार सामसुङले भारतमा ठूला मध्येका एक उत्पादन बेस बनाउने तयारी गरेको छ । जसले भारतमा रोजगारीका अलावा, विद्युतीय उपकरण थप सरल र सहज हुने विश्वास लिइएको छ ।
पछिल्लो आँकडाअनुसार भारतको जनसंख्या १ अर्ब ३५ करोडको हाराहारीमा रहेको छ । प्रोडक्सन लाइनलाई विविधिकरण गर्ने ध्येयका साथ सामसुङले भारतमा लगानी विस्तार गर्न लागेको हो ।
कम्पनीले भनेको छ ‘यो हाम्रा लागि अझै महत्वपूर्ण र रोमाञ्चक योजना पनि हो ।’
उक्त योजना पूर्णरुपमा कार्यान्वयनमा आएपछि भियतनाममा हुँदै आएको विद्युतीय सामग्री तथा स्मार्टफोनको उत्पादनमा भने असर पर्न सक्नेछ ।
अर्को छिमेकी देश चीनको अलावा भियतनाम सबैभन्दा बढी स्मार्टफोन उत्पादन गरी निर्यात गर्ने देशमा दर्ज हुँदै आएको छ ।
यस बारेमा जानकारी राख्नेहरुले बताए अनुसार भारत सरकारले ३ लाख करोड भारतीय रुपैयाँ बराबरका स्मार्टफोन उत्पादन गर्ने निर्णयले भने दीर्घकालीन रुपमा केही न केही प्रभाव भने पार्ने नै छ ।
भारत सरकारका अधिकारीकाअनुसार सामसुङको यस्तो कदमले आसियानबाट भारतमा आयात गर्न थप सहज पनि हुनेछ ।
भारतमा सामसुङले कूल १० अर्ब डलर बराबरको रेभिन्यू संकलन गर्दै आएको छ । त्यसमा मोबाइल फोनको मात्रै हिस्सा ६.५ देखि ७.५ अर्ब डलर रहेको छ ।
कम्पनीले हालसम्म आफ्नो करिब ५० प्रतिशत स्मार्टफोनको उत्पादन भियतनाममा गरिरहेको छ ।
दक्षिण कोरियाको कारखानासमेत उसले बन्द गर्ने तयारी गरिरहेको छ । श्रमिकको बढ्दो ज्यालाका कारण आफ्नै देशभित्रको कारखाना बन्द गरेर भारत तर्फ सार्ने योजनामा सामसुङ रहेको बताइन्छ ।
भारतको नोयडामा सामसुङले कारखाना विस्तार गर्ने योजना अगाडि सारेको छ ।
दक्षिण कोरियाको कम्पनी सामसुङले भारतमा ठूला मध्येका एक उत्पादन कारखाना स्थापना गर्ने निर्णयले नेपालका पनि कस्तो प्रभाव पार्ला भन्ने विषयमा चासो व्यक्त भइरहेको छ ।
नेपाली उपभोक्ताले सस्तो दरमा स्माटफोन त पाउन सक्लान् नै । नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने बताइरहेको बेला सामसुङ जस्ता ठूला र विश्वस्तरीय कम्पनीलाई नेपालमा भित्र्याएर कारखाना स्थापना गराउने तर्फ कुनै पहल भने हुन सकेको छैन ।
दक्षिण कोरियाको विद्युतीय सवारी निर्मातामा कम्पनीले नेपालका कारखाना स्थापना गर्ने भन्दै यसअघि अगाडि सारेको प्रस्ताव समेत अगाडि बढ्न सकेको छैन । कोरोना महामारी तथा लगानी बोर्डले थप चासो नदिँदा काम नभएको बताइन्छ ।
नेपालमा समेत सामसुङका उत्पादनहरु लोकप्रिय छन् । मोबाइल भन्ने बित्तिकै सामसुङ भन्ने पनि स्थापित रहेको छ ।
केही वर्ष अघिसम्म वार्षिकरुपमा नेपालमा सामसुङले १० अर्ब रुपैयाँसम्मको कारोबार गरेको थियो । आर्थिक वर्ष २०७५/७६ को बजेटले भ्याट फिर्तामा कडाइ गर्दै अन्तशुल्क लगाएपछि कारोबार ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा सामसुङले नेपालमा ६ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
SHARE YOUR THOUGHTS