कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले रणनीति परिवर्तन गर्ने « Eglish Khabarhub

कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले रणनीति परिवर्तन गर्ने



फाइल फोटो

काठमाडौं ।  देशभरी कोरोना भाइरस (कोभिड—१९) को संक्रमण बढ्दै गएपछि कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी रणनीतिको विषयमा छलफल गरेको छ ।

मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण देखिएपछि आकश्मिक रुपमा बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो । उपत्यका लगायत देशभरी नै संक्रमणको दर बढेपछि आगामी रणनीति के हुने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

‘बैठकमा विगतमा सरकारले गरेका निर्णय र ती निर्णयहरुको प्रभावकारिताका विषयमा छलफल भएको छ, संक्रमणको दर बढ्दै गएपनि आगामी रणनीति के हुने भन्ने विषयमा फरक फरक धारणा आएकाले बुधबार पुनः बैठक बसी थप छलफल हुने छ,उनले भने ।

सरकारले संक्रमणको अवस्था विश्लेषण गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक वा पूर्ण रुपमा निषेधाज्ञा गर्ने अधिकार दिएकाले त्यस सम्बन्धि निर्णय पनि सम्बन्धि जिल्ला अधिकारीहरुले गर्ने उनले बताए ।

अहिलेसम्म देशका विभिन्न ४१ जिल्लामा पूर्ण वा आंशिक रुपमा निषेधाज्ञा जारी भएको उल्लेख गर्दै उनले उपत्यकाका हकमा के गर्ने भन्ने विषयमा सीसीएमसी बैठकमा छलफल नभएको बताए । निषेधाज्ञा जारी गर्ने÷नगर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुले अधिकार प्राप्त गरेकाले सम्बन्धि क्षेत्रको अवस्थाको विषयमा विश्लेषण गरी निर्णय पनि प्रमुख जिल्ला अधिकारीले नै गर्ने उनले बताए ।

Publish on: