काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता, बीमामा विभेद नहुने बताएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँगको छलफलमा यस्तो बताएका हुन् ।
चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।
मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासो सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने प्रष्ट पारेका छन् ।
उनले यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्थाहेरी सय प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको स्मरण गराए ।
सरकारले अघिल्लो आर्थिक वर्षमा यो काम गरेको भएपनि नयाँ आर्थिक वर्ष सुरु भएपछि यो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न आग्रह गरेका छन् ।
मन्त्री ढकालले मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गरेका हुन् ।
छलफलमा मन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताए । उनले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौति सामना गर्न थप सहज हुने बताए ।
उनले कामगर्ने क्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताए । उनले कतिपय अवस्था बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्ता विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए ।
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारीविरुद्धको लडाँइमा विजय प्राप्त गर्न सकिने बताए ।
छलफलमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए । उनले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्न नहुने बताए ।
अध्यक्ष कार्कीले कोभिड-१९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको, स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिनुपर्ने बताए । महामारीविरुद्ध हामी सबै एकै ठाउँमा रहेको भन्दै मन्त्रालयले हामी छौँ भन्ने अनुभुति चिकित्सक र स्वास्थ्यकर्मीको बीचमा गराइदिनुपर्ने सुझाव दिए ।
कार्कीले ग्रोसरी सपहरु दिनभर खोल्नुपर्ने बताउँदै परिस्थिति थप जडिल बने चिकित्सक संघले सरकारका लागि स्वयंसेवक उपलब्ध गराउनका लागि काम गरिरहेको बताए ।
नर्सिङ एसोसिएसनकी अध्यक्ष मनकुमारी राईले काम गर्दा स्वास्थ्य सामाग्री अभाव भएको भन्दै सेवा सुविधामा कन्जुस्याई नगर्न आग्रह गरिन । उनले चिकित्सलाई चाहिँ होटलमा राख्ने अरुलाई चाहिँ घरमै जा भन्ने खालको स्थिति नहोस भन्ने तर्फ सरकारले ध्यान दिन आग्रह गरिन् ।
यस्तै राष्टिय चिकित्साकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीले सबै ठाउँमा भत्ता नपाएको भन्दै त्यसमा ध्यान दिन र पर्याप्त पिपिईहरु उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । सरकारले ढुक्कसँग काम गर्ने वातावरण बनाउनुपर्ने र यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।
SHARE YOUR THOUGHTS