काठमाडौं । सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी नक्सालस्थित तरकारी बजारको अनुगनका लागि आएको खवर सुनेपछि आलु र प्याजको व्यापार गर्ने किशोर पासवान पसल छोडेर भागे ।
बिष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुल्ला थियो । लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लाग्यो । सापकोटा नक्साल तरकारी तथा फलफुल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।
तरकारीको भाउ र बजारका जानकारी लिने क्रममा एकैछिन पछि अर्को सूचना आयो । पसल नं. ४०४१ का शिवलाल शाह पनि पसल छोडेर भागे । यो देखिरहेका नजिकैका अर्का व्यापारीले प्रति किलो ६० रुपैयाँमा प्याज बेच्न थाले । उनकोमा बाँकी भएको करीब २० किलो प्याज छिनमै रित्तियो ।
अन्य तरकारी बजारमाजस्तै नक्साल तरकारी बजारमा पनि खरिद बिक्री बिल र दर्ताको मुख्य समस्या देखियो । बजारमा तोफु (भटमासबाट बनेको खाद्यबस्तु) बिक्री गर्ने मिश्र स्वाँर भन्दै थिए ‘यसको म्याद त सुँघेर थाहा हुन्छ । किन्नेले सुँधेरै किन्ने हुन् । तोफु प्लाष्टिकको बाटामा पानी हालेर खुल्ला रुपमा बेच्न राखिएको थियो । त्यसमा कुनै खालको लेवल राखिएको थिएन ।’
नक्सालमा सोमबार बिहानै बा १८ च ९९०१ नं. को सवारी साधनले प्याकेजिङ् गरिएको चाउमिन बितरण गर्दै थियो । वितरित चाउमिनमा उत्पादन र उपभोग्य मिति केरमेट भेटिएपछि सामानसहितको सवारी नियन्त्रणमा लिइयो ।
यस्तै ज्ञानेश्वरमा रहेको कुमारी मिल र मनोरमा ज्ञानेश्वर फ्लोर एण्ड राइस मिलमा लेवल नभएका सबै खाद्यबस्तु बिक्रीमा रोक लगाइएको छ । मिलबाट सामान कहिले उत्पादन गरिएको हो ? खाद्य बस्तु उत्पादन गर्न ल्याइएको कच्चा पदार्थको उपभोग्य मिति के थियो ? एकिन नभएपछि सामान बिक्रीमा रोक लगाइएको हो । यी मिलहरुमा बाहिरबाट ल्याएको अन्नलाई कुटाइ गरेर बिक्री वितरण हुँदै आएको छ ।
महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा बिभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी थिए ।
SHARE YOUR THOUGHTS