काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यो शहरलाई मागिखानेहरुको शहरको रुपमा विश्वभर नचिनाउन आग्रह गरेका छन् ।
महानगरले गरिब, असहाय, शारिरीक रुपमा अशक्त मानिसलाई निःशुल्क खाना खुवाउने कार्यमा रोक लगाएको भन्दै विरोध भएपछि त्यसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले यस्तो बताएका हुन् । उनले काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको बताए ।
उनले कोरोना कहरको समयमा सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्य माथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट हुन नहुने बताए ।
कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाल लगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पु¥याउने मेयर शाक्यको तर्क छ ।
अहिले काठमाडौंका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको उनको दाबी छ ।
कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक नरहेको उनको दाबी छ ।
स्वास्थ्य मापदण्डलाई समेत ध्यानमा राखी सुरक्षितपूर्वक असल हेतुले त्यस्ता नागरिकलाई खाना खुवाउने कार्यमा काठमाडौँ महानगरपालिका विगतका दिनमा सक्रिय रहँदै आएको थियो । आगामी दिनमा पनि सहकार्य गर्न काठमाडौं महानगरपालिका सदैव तयार रहेको शाक्यले पत्रकार सम्मेलनमा बताए ।
लकडाउन अवधिभर काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाइ रहेको उनको दाबी छ । यो अवधिमा काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यको दाबी छ ।
उनले कोरोनाका कारण बेरोजगार भएको जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको बताए । त्यसका लागि कार्यपालिकाको बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै पारित गरि कार्यान्वयनमा ल्याएको शाक्यको भनाइ छ ।
उक्त कार्यविधिमा उनीहरुलाई वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता काममा लगाउने उल्लेख छ ।
कार्यविधिमै सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास, स्वास्थ्य, सरसफाई तथा फोहोरमैला व्यस्थापन, महानगरपालिका तथा वडाले तोकेका अन्य विभिन्न काममा लगाई हप्तामा कम्तीमा दुई दिनका दरले तोकिएको दैनिक ज्यालादारीमा रोजगारी दिने पनि उल्लेख छ । साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पनि रोजगारी सिर्जना गर्ने कार्यक्रम रहेको छ ।
यस्तै महानगरले मानव सेवा आश्रमको सहकार्यमा विगत तीन वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा अशक्त-असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आएको उल्लेख छ ।
कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी छन भने उनीहरूले आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उनीहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न महानगर तयार रहेको बताए ।
SHARE YOUR THOUGHTS