काठमाडौं । संसारभर नै विभिन्न रोगको खोप निर्माण एवम् उत्पादन गर्दै आएको छिमेकी देश भारतले कोरोना विरुद्धको खोप निर्माणलाई समेत तिव्रता दिएको छ ।
विवरण अनुसार भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटले तयार पारेको खोप नेपालले समेत पाउन सक्ने अनुमान गरिएको छ ।
भारतमा सरकारले अनुदान समेत दिएको खोप प्रतिडोज ३ अमेरिकी डलर पर्ने देखिएको छ । यस्तै सोही खोपलाई बजारमा भने ६ डलरसम्म पर्ने सम्भावना रहेको छ ।
नेपालका केही व्यवसायीले सेरमबाट खोप आयात गर्न सकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन समेत दिएका छन् । तर, मन्त्रालयले सरकारी स्तरमा नै खोप ल्याउने तयारी गरेको भन्दै निजी क्षेत्रलाई तत्काल खोप ल्याउने अनुमति दिन तयार देखिदैन ।
मन्त्रालयमा विभिन्न ५ व्यवसायीक संस्थाले खोप आयातका लागि आवेदन दिएका छन् । तर, उनीहरुको आवेदनमाथि कुनै पनि सुनुवाई भएको छैन ।
सरकारी स्तरमा आयात गरिने भनिएको खोप विगतमा पिसिआरलगायतका स्वास्थ्य सामग्रीमा गरिएको जस्तै अपारदर्शी क्रियाकलाप हुने अनुमान पनि सार्वजनिक भएको छ ।
भारतीय कम्पनी सेरमले नेपालका अलावा, बंगलादेश र भुटानलाई खोप उपलब्ध गराउने प्राथमिक सूचीमा राखेको बताइएको छ ।
सेरमका एक निर्देशक प्रकाश सिंहले नेपालले माग गरेको खण्डमा खोप उपलब्ध हुने बताएका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँग सेरमका प्रतिनिधिबीच भेटवार्ता भएको बताइएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा हाल विभिन्न ६ कम्पनीले तयार पारेको खोपको परिक्षण भइरहेकोछ । त्यसमध्ये सेरम भने शीर्ष स्थानमा रहेको छ ।
आगामी जनवरीदेखि भारतमा खोप लगाउने तयारी थालिएको छ । जनसंख्या र जनघनत्वका दृष्टिले उच्च स्थानमा रहेको भारतमा कोरोनाका कारण १ करोड बढी संक्रमित भएका छन् ।
नेपालले खोप उत्पादन गरिरहेका देशसँग कुटनीतिक रुपमा पत्राचार गरेको बताएपनि हालसम्म कुनै औपचारिक जानकारी आउन सकेको छैन ।
खोप खरिदका लागि मात्रै ६० अर्ब रुपैयाँ लाग्ने बताएको केपी ओली सरकारले यहीबीचमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको छ ।
खोपका लागि आवश्यक पर्ने बजेट कुन स्रोतबाट जुटाउने भन्ने बारेमा हालसम्म कुनै तयारी छैन ।
कोरोनाका लागि २ डोज खोप आवश्यक पर्ने छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार कोरोना विरुद्धको खोप लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
SHARE YOUR THOUGHTS