नविल बैंक पनि मर्जरमा जान तयार, दीर्घकालीन फाइदा हुने संस्था खोजिरहेका छौं: अनिल शाह « Eglish Khabarhub

नविल बैंक पनि मर्जरमा जान तयार, दीर्घकालीन फाइदा हुने संस्था खोजिरहेका छौं: अनिल शाह



काठमाडौं । राष्ट्र बैंकले लामो समयदेखि नीतिगत प्रोत्साहन र व्यवहारिकरुपमा दवाव दिँदै आए पनि मर्जरमा जान आनाकानी गरिरहेको नविल बैंक अन्तत मर्जरमा जान तयार भएको छ ।

बैंकले बुधबार सूचना नै प्रकाशित गरेर मर्जरमा जान तयार रहेको सन्देश दिएको हो । बैंकले पहिलोपटक मर्जरको प्रस्ताव साधारणसभामा प्रस्तुत गर्दैछ ।

मर्जरमा गएएका संस्थाहरुले आफूलाई जित्न थालेपछि नविल बैंक वनि मर्जर तथा एक्यावरमा जान तातिएको हो ।

बुधबार प्रकाशित ३६औं साधारणसभा सम्बन्धी सूचनाको बुँदा नं. ५ मा भनिएको छ, ‘नविल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न तथा अन्य वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ति गर्न, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।’

बैंकले पहिलोपटक मर्जर वा एक्यावरमा जानका लागि सञ्चालक समितिलाई अधिकारी दिन लागेको प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए ।

‘साधारणसभामा मर्जर तथा एक्वायरको प्रस्ताव पहिलोपटक लैजादै छौं, यो भनेको अव नविल बैंक मर्जर, एक्वायर तथा विदेशी लगानी भित्र्याउन लागि परेको छ भनेर बुझ्दा हुन्छ,’ सीइओ शाहले भने, ‘व्यवस्थापनले कुन बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर कस्तो के कस्तो फाइदा हुन्छ भनेर सञ्चालक समितिमा प्रतिवेदन पेश गरिसकेका छौं । कुनसँग गर्ने भन्ने अधिकार सञ्चालक समिति र साधारणसभालाई छ ।’

तर, पछिल्लो समय आधादर्जन बैंक तथा वित्तीय संस्थासँग नविलले मर्जरको सामान्य छलफल अघि बढाएको उनले जानकारी दिए ।

‘हाम्रा लगानीकर्ताहरुले आधा दर्जन संस्थासँग छलफल गरिरहनु भएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘कुनै पनि संस्थासँग कंक्रिट निष्कर्शमा पुगेको छैन ।’

नविल बैंकमा बहुमत सेयर नेपालको प्रतिष्ठत व्यापारिक घराना चौधरी ग्रुपको भएकाले यो ग्रुपले अल्पकालीन भन्दा पनि दीर्घकालीन फाइदा हेरेर निर्णय लिनेमा आफू ढुक्क भएको उनले जानकारी दिए ।

‘चौधरी ग्रुपले अल्पकालीन फाइदा हेर्दैन, सिस्टमको फाइदा र दीर्घकालीन फाइदा हेर्छ,’ उनले भने, ‘जे होस् यो पटक मर्जर, एक्वायर वा विदेशी साझेदारी भित्र्याउने विषयलाई गंभीरतापूर्वक अघि बढाइने छ ।’

Publish on: