काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउन सकिने उनको भनाइ छ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताए ।
समाजको १० औं वार्षिक साधारणसभामा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ । सिजेएनले हरेक वर्ष स्थापना दिवसको अवसरमा (भदौ १९ गते) प्रदान गर्दै आएका उक्त पुरस्कार यस वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो ।
त्यस्तै साधारणसभाको अवसरमा संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ गरिएको छ । विलासी कर्पोरेट नेपालमा कार्यरत छन् ।
साधारणसभाका अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा हित कोष स्थापना भएको छ । कोषले आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि पनि कार्य गर्ने अध्यक्ष दाहालले बताए ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले उक्त कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । साधारणसभाले कोष सञ्चालन कार्यविधि पारितसमेत गरेको छ ।
SHARE YOUR THOUGHTS