कुलमान घिसिङले गरे युनिभर्सल पिस केन्द्र निर्माणमा ऐक्यवद्धता « Eglish Khabarhub

कुलमान घिसिङले गरे युनिभर्सल पिस केन्द्र निर्माणमा ऐक्यवद्धता



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

नेपालमा १ रुपैयाँ र अन्यत्र १ अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ ।

लुम्बिनीमा बुधबार भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई १ रुपैयाँ दान दिएर अभियानमा ऐक्यवद्धता जनाएका हुन् । घिसिङले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा रिन्पोचेले सबैको सहभागिता र अपनत्व हुने गरी अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताए । अभियान गत कात्तिकमा सुरु गरिएको थियो ।

युनिभर्सल पिस केन्द्रमा २ हजार बढी क्षमताको अन्तराष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुने छन् । विभिन्न मुलुकका सोधकर्ताहरु रहने खोज अनुसन्धान केन्द्र रहने छ । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धी पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन् ।

जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । केन्द्रको मुख्य आकर्षण सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ ।

अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको बताइएको छ ।

महायानी संप्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको एक सय २० मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक केन्द्र निर्माण भइरहेको छ ।

विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण सुरु गरिएको हो । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो केन्द्र निर्माण भइरहेको छ ।

Publish on: