काठमाडौं । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा एनआइसी एशिया, मेगा, सानिमा, बैंक अफ काठमाण्डू र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसीयो) सीमामा पुगेका कारण थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सीसीडी रेसियोमा सहज गर्दै ८० प्रतिशतबाट सीमा बढाएर ८५ तोकेको छ । यसको अर्थ बैंकले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ८५ रुपैयाँसम्म कर्जा लगानी गर्न पाउँछन् ।
मौद्रिक नीतिले सीमा बढाएर ८० प्रतिशत माथि सीसीडी कट्नु भनेको बैंकहरुले स्रोत संकलन नगरी थप कर्जा दिन नसक्ने अवस्थामा पुग्नु रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
बैंकर्स संघद्वारा प्राप्त तथ्यांक हेर्दा गत चैत २० गतेसम्म एनआइसी एशियाले ८४.२१ प्रतिशत, मेगाले ८३.०६ प्रतिशत, मेगाले ८३.०६ प्रतिशत, सानिमाले ८२.९१ प्रतिशत, बैंक अफ काठमाण्डूले ८२.९१ प्रतिशत र प्राइम ८२.०१ प्रतिशत सीसीडी कायम गरी कारोबार गरी रहेका छन् ।
बैंकहरुले अहिले पनि ८० प्रतिश सीसीडी कटाउनु भनेको थप नयाँ कर्जा विस्तार गर्न नसक्ने अवस्थामा बैंक रहनु राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
‘राष्ट्र बैंकले बैंकहरुलाई कर्जा लगानीमा सहजता होस् भनेर सीसीडीको सीमा बढाएको हो तर ८० प्रतिशत माथि सीसीडी भएका बैंकहरुले थप स्रोत व्यवस्थापन नगरी नयाँ कर्जा विस्तार गर्न सक्दैनन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले नै बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै गएको छ भने अन्तर बैंक ब्याजदर समेत बढेर ३ प्रतिशतको हाराहारीमा आएको छ । यस्तो अवस्थामा सीमामा सीसीडी रहेका बैंकले थप स्रोत व्यवस्थापन नगरी नयाँ कर्जा विस्तार गर्दा वित्तीय व्यवस्थापनमा जोखिम आउन सक्छ ।’
बैंकहरुले सम्पती तथा दायित्व व्यवस्थापनको लागि ध्यान नदिए भविक्ष्यमा जोखिम निम्तिन सक्ने उनको भनाइ छ ।
सो अवधिमा एनआइसी एशिया बैंकले २ अर्ब ८४ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ५६ अर्ब ८२ रुपैयाँ कर्जा लगानी गरी सकेको छ ।
राष्ट्र बैंकले तोकेको सीसीडी गणाना विधिअनुसार बैंकको सीसीडी अनुपात ०.०१ प्रतिशतमात्र सहजतामा छ । अर्थात् बैंकले संकलन गर्ने निक्षेपको ०.०१ प्रतिशतमात्र रकम कर्जा लगानी गर्न पाउँछ ।
बैंकले सो अवधिमा सीसीडी अनुपातअनुसार ०.०१ प्रतिशत कर्जा लगानी गर्न पाउने भएपनि थप कर्जा ग्राहकलाई दिन समस्या नभएको बैंकका कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।
‘बैंक ठुलो साइनको बैंक भएको कारणले ०.०१ प्रतिशत सीसीडी भनेको पनि हामीसँग ३ अर्ब ५० करोड रुपैयाँ हुन आउँछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंकद्वारा प्रवाहित अधिकांश कर्जा साना परिमाणका खुद्रा कर्जा नै हो, भने अहिलेसम्म प्रवाहित कर्जामा पनि ९० प्रतिशत बढी कर्जा १५ करोड रुपैयाँभन्दा तलका छन् । जसकारण सो सीसीडी व्यवसाय गर्न बैंकलाई कुनै समस्या हुँदैन तर थप स्रोत संकलनमा पनि बैंकले ध्यान दिइरहेको छ ।’
बैंकको व्यवसायीक नीति नै सीसीडीलाई ८३/८४ को अनुपातमा राखेर कारोबार गर्न भएको हुँदा अहिले बैंकलाई सीसीडी सीमामा हुँदा कुनै समस्या नहुँने उनको भनाइ छ ।
यस्तै, मेगा बैंकले गत चैत २० गते १ खर्ब ४० अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको सीसीडी रेसीयो ८३.०६ प्रतिशत कायम छ । राष्ट्र बैंकको सीसीडी गणना विधिअनुसार बैंकले अब ४ अर्ब ३ करोड रुपैयाँमात्र थप नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्था छ ।
यसैगरी, सानिमा बैंकले गत चैत २० गतेसम्म १ खर्ब २२ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको सीसीडी रेसीयो ८२.९१ प्रतिशत छ । राष्ट्र बैंकको सीसीडी गणना विधिअनुसार बैंकले २ अर्ब ५५ करोड रुपैयाँसम्म मात्र थप कर्जा दिनसक्ने अवस्था देखिन्छ ।
अहिले बैंकमा थप नयाँ कर्जा दिनका लागि केही तरलता संकुचन भएपनि चैत मसान्तपछि सरकारले खर्च बढाएमा नयाँ कर्जा विस्तारमा समस्या नहुँने बैंकका कार्यकारी अधिकृत भुवन दाहालको भनाइ छ ।
तर बसीसीडी सीमामा रहेका बैंकहरुले थप स्रोत संकलनमा ध्यान दिँदै नयाँ कर्जा विस्तार गर्न उनले सुझाए ।
बैंक अफ काठमाण्डूले गत चैत २० गते ९६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको सीसीडी रेसीयो ८२.२६ प्रतिशत छ । सीसीडी गणाना विधि अनुसार बैंकले अब ४ अर्ब ६४ करोड रुपैयाँसम्म मात्र थप कर्जा दिन सक्ने अवस्था देखिन्छ ।
यस्तै, सो अवधिमा प्राइम बैंकले सीसीडी रेसीयो ८२.०१ प्रतिशत कायम गरी कारोबार गरी रहेको छ । गत चैत २० गतेसम्म बैंकले १ खर्ब ३९ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सीसीडी गणाना विधि अनुसार अब बैंकले ६२ करोड रुपैयाँसम्म मात्र कर्जा प्रवाह गर्न सक्ने अवस्था देखिन्छ ।
SHARE YOUR THOUGHTS