![](https://internal.appharu.com/wp-content/uploads/2021/12/ghar-jagga-karobar-768x432.jpg)
काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले तरलताको अभाव छ । राष्ट्र बैंकले तरलता अभावका भएको भन्दै गत मंसिर ९ गते दुई साताका लागि २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो ।
बैंकमा पैसा नभएपछि कर्मचारीहरूलाई निक्षेप खोज्न भ्याइनभ्याइ छ ।
तर, एकातिर तरलता अभाव भइरहँदा सबैभन्दा बढी कर्जा प्रवाह हुने क्षेत्र घरजग्गामा भने कुनै असर देखिँदैन । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांक अनुसार घरजग्गा कारोबारमा कुनै असर नदेखिएको हो ।
कोरोना महामारीका कारण अन्य व्यवसाय पूर्ण बन्द भएको अवस्थामा घरजग्गा क्षेत्रमा लगानी गर्ने मानिसको आकर्षण बढेको थियो । सोही लगानी गर्ने आकर्षण हाल पनि कायमै छ । जसले गर्दा कोभिडकै समयमा ४० प्रतिशतले जग्गाको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।
कोभिडअघि सामान्य ६० हजारको हाराहारीमा घरजग्गाको कारोबार हुँदै आएकोमा कोभिडपश्चात भने उक्त कारोबार बढेर ७० हजार नाघेको छ । कोभिडकै समय भएपनि २०७७ को साउनपश्चात भने मासिक ७० हजार बढी घरजग्गा किनबेच हुँदै आएको छ । हालसम्म पनि सो ट्रेन्ड कायमै छ । साथै, विभागले ७ अर्ब बढी राजस्व संकलन गर्दै आएको तथ्यांकमा उल्लेख छ ।
यसअघि चाडपर्वले गर्दा मालपोत कार्यालयबाट सेवा प्रवाह नहुँदा कारोबार घटेको थियो । साथै, कात्तिकमा पनि सेवा प्रवाह हुन नसक्दा उल्लेख्य घरजग्गा कारोबार घटेको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा ७५ हजार ४ सय १७ वटा, भदौमा ७० हजार ९० वटा, असोजमा ५९ हजार २ सय २७ वटा र कात्तिकमा ५० हजार ८३ घरजग्गाको लिखित पारित भएको थियो ।
पछिल्लो समय तरलताका अभावका कारण अधिकांश क्षेत्रमा समस्या उत्पन्न हुन थालेको छ । बैंकहरूबाट आवश्यक कर्जा प्रवाह हुन नसक्दा लगानीयोग्य क्षेत्रमा असर देखिन थालेको छ ।
यस्तै, तरलता अभावका कारण घरजग्गा क्षेत्रमासमेत असर देख्न सक्ने धेरैको अनुमान थियो । तर, मंसिर महिनाको घरजग्गाको कारोबार हेर्दा कुनै असर नपरेको स्पष्ट पार्दछ । त्यस्तै सामान्य अवस्थामा जस्तै मंसिर महिना देशभरका १२६ वटा मालपोत कार्यालयबाट १ लाख ६९ हजार ८ सय सेवा प्रवाह हुँदा ६९ हजार ४ सय १२ घरजग्गा किनेबेच भएको छ । जुन सामान्य अवस्थामै रहेको छ ।
त्यस्तै, देशभरका मालपोत कार्यालयबाट मंसिरमा उल्लेख्य भएसँगै ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले कात्तिक महिनामा ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यस्तै, असोज महिनामा ७ अर्ब ३३ करोड २ लाख रुपैयाँ, भदौ महिनामा ८ अर्ब २६ करोड १७ लाख २८ हजार रुपैयाँ र साउनमा ८ अर्ब १० करोड ३६ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
४ महिनामा घरजग्गामा ३४ अर्ब ऋण
असोजबाट केही मात्रामा तरलताको अभाव देखिन थालेको थियो । हाल मंसिरसम्ममा आइपुग्दा तरलता अभावले बैंकहरूका कर्मचारीलाई निक्षेप खोज्न भ्याइनभ्याइ हुन थालेको छ । त्यस्तै, असोजबाट केही मात्रामा तरलता अभाव देखिएपनि घरजग्गामा भने उल्लेख्य रुपमा कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
चालु आवको ४ महिनाको अवधिमा घरजग्गा क्षेत्रमा ३४ अर्ब १ करोड ८५ लाख कर्जा प्रवाह भइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।
तर, तरलताका अभावका कारण कात्तिकमा भने उक्त क्षेत्रमा कर्जा प्रवाह कम भएको देखिन्छ । कात्तिक महिनामा असोज महिनाको तुलनामा ४ अर्ब ६१ करोड ३ लाख रुपैयाँ कर्जा प्रभाव कम भएको छ ।
असोज महिनामा घरजग्गा क्षेत्रमा १९ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यस्तै, कात्तिकमा भने १४ अर्ब ७० करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
उक्त तथ्याङ्कले पनि तरलता अभावका कारण कर्जा प्रवाह कम हुन थालेका अनुमान लगाउन सकिन्छ ।
तर, असोज र कात्तिक महिनामा उल्लेख्य कर्जा प्रवाह हुँदासमेत घरजग्गाका कारोबार भने कम भएको छ । साथै, साउनमा ७ अर्ब २१ करोड ५८ लाख र भदौमा ८ अर्ब ८९ करोड २० लाख रुपैयाँ घरजग्गाका लागि कर्जा प्रवाह भएको थियो ।
त्यस्तै, मंसिर महिनामा घरजग्गा कारोबारमा कुनै असर नदेखिए पनि कर्जा प्रवाह भने कमी आउने बैंकहरूको दाबी छ ।
चार महिनाको अवधिमा १३ अर्ब ७६ करोड ७० लाख रुपैयाँ १ करोड ५० लाखसम्म व्यक्तिगत घर ऋण लिने र २० अर्ब २५ करोड १५ लाख रुपैयाँ रियल स्टेटमा कर्जा प्रवाह भएको छ ।
हालसम्ममा बैंकले घरजग्गा तथा आवायीय क्षेत्रमा ५ खर्ब १५ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमा व्यक्तिगत आवासीय घर कर्जातर्फ ३ खर्ब १२ अर्ब २ करोड ७७ लाख र रियल स्टेट ऋणतर्फ २ खर्ब ३ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंककाअनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा १ करोड ५० लाखसम्ममा आवासीय रियल स्टेटतर्फ ६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ र व्यापारिक कम्प्लेक्स तथा अपार्टमेन्टमा ५ अर्ब ८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
त्यस्तै, आय हुने व्यापारिक कम्प्लेसतर्फ चार महिनामा २६ करोड ६२ लाख, अन्य रियल स्टेट (प्लाटिङ, जग्गामा) ८ अर्ब १७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । साथै, जग्गा खरिद र प्लटिङतर्फ ७ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ र अन्य ऋणतर्फ १ अर्ब ८० करोड कर्जा प्रभाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS