काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि आवेदन माग गरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन तथा रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्न सम्मानका लागि आवेदन माग गरेको हो ।
‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, (संशोधन समेत)२०७६’ को अनुसूची २ अनुसारको आवेदन फाराम भरी खामबन्दी गरी फागुन १० गतेसम्म आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ ।
उक्त मितिमा मन्त्रालय रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा स्क्यान गरी मान्त्रालयलको इमेल ठेगानामा पठाउनुपर्ने छ ।
कार्य भिसामा विदेश गई कम्तीमा पनि एक वर्ष काम गरी फर्किएको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय सञ्चालन गरेको न्यूनतम १ वर्ष पूरा भएको हुनुपर्ने छ ।
विगत पाँच वर्षभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरुले भने आवेदन दिन सक्ने छैनन् ।
साथै, विगत वर्षहरुमा यस प्रकारको पुरस्कारको लागि आवेदन पेश गरेका तर पुरस्कारको लागि छनोटमा नपरेका उद्यमीहरुले समेत आवेदन दिन सक्ने मन्त्राललयले जानकारी दिएको छ ।
नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भीसासहितको राहदानीको प्रतिलिपि तथा व्ययवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि आवेदनसँगै पेश गर्नुपर्ने छ ।
मन्त्रालयका अनुसार कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७/७८को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने छ ।
SHARE YOUR THOUGHTS