सिभिल बैंकका सुखद् दुई वर्ष, दोब्बर मूल्य बढाउँदै गाभियो हिमालयन बैंकमा « Eglish Khabarhub

सिभिल बैंकका सुखद् दुई वर्ष, दोब्बर मूल्य बढाउँदै गाभियो हिमालयन बैंकमा


२९ असार २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दुई वर्षअघि सिभिल बैंकको सञ्चालक समितिले बैंक चलाउन नसकिने निष्कर्ष निकाल्दै हिमालयन बैंकलाई गाभिन तयार भएको सन्देश सहितको एक पत्र पठायो ।

हिमालयन बैंक भने पहिला नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने र सिभिललाई तान्ने योजनामा थियो ।

हिमालयन बैंकले त्योबेला सिभिल बैंकलाई गाभेको भए बढीमा १००ः४० अनुपातको अवसर थियो अर्थात् सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकमा ४० कित्ता सेयर हुने गरेर एक्विजिशन हुने थियो तर हिमालयन बैंकले सिभिलको प्रस्ताव लत्यायो ।

र, इन्भेष्टमेन्टसँगको छलफल अगाडि बढायो । हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता पनि भयो । तर, साधारणसभामा हिमालयन बैंकको १४ प्रतिशत सेयर हुने सञ्चय कोष र अर्का सेयरधनी प्रचण्डबहादुर श्रेष्ठको समूहले इन्भेष्टमेन्ट बैंकलाई ७६ भन्दाबढी दिन नसकिने भन्दै मर्जरको प्रस्ताव असफल गराए ।

इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर हिमालयन बैंकमा ७६ कित्ता हुनुपर्ने मत कोष र श्रेष्ठ समूहको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमालयन नयाँ पार्टनरको खोजीमा थियो । राष्ट्र बैंकको कारबाहीबाट बच्न हिमालयन बैंकलाई अर्को वाणिज्य बैंक मर्जर वा एक्विजेशन गर्नुपर्ने बाध्यता थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेपछि हिमालयन झनै ठूलो दबाबमा पर्यो ।

इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमालयन बैंकले सिभिलसँग कुराकानी अगाडि बढायो । सिभिललाई ५० अनुपातमा स्वाप दिएर एक्विजेशन गर्ने प्रस्ताव हिमालयन बैंकको थियो । २ वर्षअघि ४० रेसियोमा सबै कुरा गुमाएर एक्विजेशनमा जान तयार सिभिल बैंकले हिमालयन बैंकको प्रस्ताव मानेन ।

२ वर्षमा सिभिल बैंकमा सञ्चालक समितको अध्यक्ष तथा सीईओ परिवर्तन भए । सिभिल बैंकले स्थापनाकालदेखि हासिल गर्न नसकेको व्यवसायिक वृद्धि २ वर्षमा गरेको थियो ।

२०७६ असार मसान्तमा सिभिल बैंकको निक्षेप ४१ अर्ब र कर्जा ४२ अर्ब थियो । २०७७ साल असार मसान्तमा ५७ अर्ब निक्षेप र ५१ अर्ब कर्जा पुर्यायो । चालु आर्थिक वर्षको चैत मसान्तमा आइपुग्दा सिभिलले ८५ अर्ब निक्षेप पुर्याएको छ भने कर्जा ८८ अर्ब पुर्याउन सफल भयो ।

‘सिभिल बैंक साह्रै सुस्त भयो, चल्न सक्दैन भन्नेहरुलाई गत वर्षको आक्रमक व्यवसायले देखाइदिएको छ,’ केही समय अगाडि सिभिल बैंकका सीइओ सुनिल पोखरेलले क्लिकमाण्डूसँगको कुराकानीमा भनेका थिए ।

स्थापनाको १२ वर्षमा सिभिल बैंकले लगानीकर्तालाई ८ पटक लाभांश दियो । बैंकले दिएको औसत लाभांश ५ प्रतिशत पनि थिएन ।

लगानीकर्ताले सिभिल बैंकमै मुद्दति निक्षेपमा पैसा राखेका भए निक्षेपकर्ताले कम्तीमा पनि १० प्रतिशत प्रतिफल पाउँथे । स्थापनादेखि लाभांश एक पटकमात्र दोहोरो अंकमा दिन सफल भएको छ ।

लाभांश नखाएको सिभिल बैंक पछिल्लो २ वर्षको व्यापार बिस्तारले उत्साहित थियो । आगामी वर्षदेखि व्यवसायको ग्रोथले कम्तीमा १० प्रतिशतभन्दा बढी लाभांश दिने नीति बनाएको सिभिलको रणनीति थियो, हेपिएर मर्जर तथा एक्विजेशनमा नजाने । जुन कुरा सिभिलका अध्यक्ष प्रतापजंग पाण्डे तथा सीइओ पोखरेलले क्लिकमाण्डूसँगको कुराकानीमै भनेका थिए ।

हिमालयन बैंकसँग सिभिलले ९० को स्वाप रेसियोले एक्विजेशनमा जान सकिने तथा कर्मचारी व्यवस्थापनको शर्त समेत राख्यो । हिमालयन बैंकका सञ्चालक समितिका सदस्यहरु सिभिलको प्रस्तावले चकित नै भएका थिए ।

हिमालयन बैंकका एक सञ्चालकका अनुसार इन्भेष्टमेन्ट बैंकसँग ७६ भन्दाबढी दिन नसकिने भन्दै मर्जर भाँडेका लगानीकर्ता सिभिललाई ८१ दिनुपर्ने बताएका थिए ।
लामो समयको छलफलपछि हिमालयन बैंकको सञ्चालक समितिले सिभिल बैंकलाई ८१ को स्वाप रेसियो दिन तयार भएको जानकारी सिभिललाई दिए ।

गत शुक्रबार हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा सबै कुरा सहमति भइसकेको थियो । हिमालयन बैंकले सोल्टी होटलमा १ बजे हल समेत बुक गरेको थियो । तर, एकाएक कुरा बिग्रियो ।

कारण थियो हिमालयन बैंकको सञ्चालक समितिमा भएको विवाद । केही सदस्यले सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए)आधारमा ६० सम्म दिनुपर्ने र सोही अनुसारको काम हुने बताएका थिए ।

नेपाल राष्ट्र बैंकले बनाएको मर्जर तथा एक्विजेशनको नीतिमा स्वाप रेसियोमा १० प्रतिशतसम्म तलमाथि गर्न सकिने व्यवस्था छ । गत शुक्रबारका लागि तोएिको मर्जर सम्झौता रद्द हुनुको पछाडि हिमालयन बैंकको सञ्चालक समितिले स्वाप घटाउने तथा कर्मचारी समायोजनमा राखेको अडानको कारण थियो । सम्झौता हुने तय भए पनि विवादको कारण हस्ताक्षर भएन ।

शुक्रबारदेखि सिभिल बैंकले मर्जरको लागि सिटिजन्स बैंकसँग छलफल थाल्यो । मंगलबार बेलुका ५ बजेसम्म सिभिलको सञ्चालक समिति हिमालयन बैंकसँग मर्जर तथा एक्विजेशनको कुनै पनि कुरा नहुने र यसमा च्याप्टर क्लोज भएकोमा पुगेको थियो ।

सिभिलका अध्यक्ष पाण्डेले च्याप्टर क्लोज भएको सन्देश हिमालयन बैंकलाई पठाएका थिए । त्यसपछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बस्यो ।

हिमालयन बैंकको सञ्चालक समितिले स्वापदेखि लिएर कर्मचारी समायोजनको विषयको अख्तियारी मर्जर कमिटिलाई प्रधान गर्ने निर्णय गर्र्यो । बेलुका हिमालयन बैंकले सिभिल बैंकलाई स्वाप तथा कर्मचारी समायोजनको विषयमा आफूहरु लचक रहेको सन्देश दियो ।

त्यसपछि दुई बैंकका मर्जर कमिटी र केही सञ्चालकबीच १००ः८१ को अनुपातमा एक्विजेशनमा जाने तथा कर्मचारीको समायोजनमा घटुवा नगर्ने सहमति भयो । सिभिल बैंक हिमालयन बैंकसँग गाभिन तयार भयो ।

गाभिएपछि बन्ने संस्थाको नाम हिमालयन बैंक नै हुने तथा सञ्चालक समितिमा हिमालयन बैंकको नै प्रतिनिधित्व हुनेमा सिभिल तयार भयो । मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुनेछन् । सीइओपछिको दोस्रो बरियतामा डेपुटी सीइओमा अहिलेका सिभिलका सीइओ सुनिल पोखरेल हुनेछन् ।

सिभिल बैंकका कर्मचारी जुन पदमा कार्यरत छन् त्यही पदमा नै समायोजन गर्ने सहमति दुई बैंकबीच भएको छ ।

‘एक्विजेशन प्रक्रिया सम्झौता गर्ने छलफलहरु एक किमिसमको सस्पेन्स फिल्ममा हुनेजस्तो भए, यसका धेरै कथाहरु छन्, पछि भनौला,’ सिभिलका एक सञ्चालकले क्लिकमाण्डूसँग भने ।

एक्विजेशनको सम्झौता गर्ने निर्णय गरे पनि हिमालयन बैंकका सबै सञ्चालक स्वापमा भने अझै सहमत छैनन् ।

‘नेपाल इन्भेष्टमेन्टको भन्दा बढी स्वाप रेसियो हामीले सिभिललाई दियौं, त्यसको प्रश्नको जवाफ हामीले कसरी दिने? त्यसको उत्तर कसैसँग छैन,’ हिमालयन बैंकका एक सञ्चालकले भने ।

सिभिल बैंकले भने प्रारम्भिक डीडीएको आधारमा नै हिमालयन बैंकसँगको एक्विजेशनमा १००:८१ को अनुपात निकालेको दाबी गरेको छ ।

‘डीडीए सोही अनुसारको नै आउने छ, हामी ढुक्क छाै‌, स्वापमा ८१ को सुनिश्चिता र कर्मचारी समायोजनमा कुरा मिलेपछि हस्ताक्षर भएको हो,’ सिभिलका एक सञ्चालकले भने ।

एक्विजेशनले कसलाई के फाइदा ?

हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्दा फाइदा दुबै बैंकलाई छ ।

पहिला हेरौं हिमालयन बैंकको फाइदाका कुरा । हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि जसरी पनि एउटा वाणिज्य बैंकलाई मर्ज तथा एक्विजेशन गर्नुपर्ने बाध्यता थियो । त्यो नभएमा राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने थियो ।

अहिले पनि हिमालयन बैंकको १ प्रतिशतभन्दा बढी सेयर हुनेको सेयर कारोबार खुलेको छैन । अर्को बैंकसँग सम्झौता गरेर एकीकृत कारोबार नगरेमा राष्ट्र बैंकले दिने सहुलियत हिमालयन बैंकलाई दिने थिएन । जसले हिमालयन बैंकलाई भोलिका दिनमा असजिलो हुने थियो । जुन कुरा अब हटेको छ ।

सिभिल बैंकका सेयरधनीलाई भने बम्पर फाइदा एक्विजेशनले दिएको छ । सिभिलले बैंकका सेयरधनी १०० कित्ता बराबर ८१ कित्ता हिमालयन बैंकको हुने गरेर एक्विजेशनमा गएका छन् ।

सिभिल बैंकका सेयरधनीले पछिल्लो एक दशकमा औसतमा पाएको लाभांश नै जम्मा ५ प्रतिशत हो । अब कम्तीमा पनि हिमालयनसँग गाभिएपछि सिभिलका सेयरधनीले त्यसको चार गुणा बढी प्रतिफल पाउनेछन् ।

हिमालयन बैंकले पछिल्लो एक दशमा औसतमा २४ प्रतिशत लाभांश दिएको छ । बैंकले १५ प्रतिशतभन्दा तल झरेर लाभांश दिएको छैन । हिमालयन बैंक कर्पोरेटमा फोकस भएको बैंक हो ।

सिभिल बैंकको फोकस साना तथा मझौला क्षेत्रमा छ । जसले बैंकमा एक्विजेशनपछि सिनर्जी ल्याउन मद्दत गर्ने छ ।

हिमालयनभन्दा सिभिल बैंकको शाखा बढी छ । हिमालयनको अहिले ७० वटा शाखा छ भने सिभिलको १२७ वटा शाखा छ । मुख्य सहरी क्षेत्रमा मात्र हिमालयन बैंक फोकस छ । सिभिल ग्रामिण क्षेत्रमा फोकस छ । हिमालयन बैंकको पुरानो ब्राण्डले सिभिललाई गाभेपछि व्यवसाय गर्न थप सजिलो बैंकलाई हुनेछ ।

हिमालयन बैंकको अहिले चुक्ता पूँजी १२ अर्ब ६८ करोड छ । सिभिल बैंकको ९ अर्ब ७ करोड छ । एक्विजेशनपछि २० अर्ब हुने छ । स्वाप रेसियोबाट हिमालयन बैंकले १ अर्ब ७२ करोड पाउने छ । जुन हिमालयन बैंकका सेयरधनीलाई समेत लाभांश बाँड्न मिल्छ ।

सिभिललाई गाभेपछि हिमालयन बैंकको निक्षेप २ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ भने कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ हुनेछ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ००:००  ४ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping