दशैं चाड मात्र होइन, धेरै कुराहरु सिक्ने साइत पनि « Eglish Khabarhub

दशैं चाड मात्र होइन, धेरै कुराहरु सिक्ने साइत पनि


१४ आश्विन २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

दशैं सम्झने वित्तिकै मनमा एक प्रकारको मिठो अनुभूति एवं खुसी छाउँछ । मिठो खाने, राम्रो लगाउने, साथीभाइ तथा इष्टमित्रहरु भेटघाट गरि हर्षोउल्लासका साथ मनाइने यस महान चाडबाट हामीले धेरै शिक्षा आर्जन गर्न सक्छौं । त्यसैले दशैं चाडमात्र होइन, धेरै कुराहरु सिकाउने पर्व पनि हो, टिकाको साथसाथै शिक्षा पनि सिक्ने साइत पनि हो ।

आदर सत्कारः मानिसहरु वर्षभरि भेट नभएता पनि दशैंमा आफूभन्दा ठूलाको हातबाट टिका र आशीर्वाद थाप्न टाढाबाट पनि पुग्छन् ।

‘आगो ताप्नु मुढाको, अर्ती सुन्नु बुढाको’ भन्ने उखानलाई मनन गर्दै उनीहरु ठूला मानिसहरुसँग टिका ग्रहण गरेपछि शिर निहुर्यांउछन् । आफूभन्दा ठूलालाई आदरसत्कार गर्नुपर्छ भन्ने नैतिक शिक्षा दशैंले दिन्छ ।

सन् १९७० मा बनेको दिलिप कुमारको हिन्दी चलचित्र गोपीमा नायक दिलिप कुमारले आफ्नो दाजुलाई चिनाउँदै भन्छन्- उहाँ नै हुनुहुन्छ जसको दर्शन गरेपछि मलाई मन्दिर जान आवश्यक पर्दैन थियो ।

आफ्नो दाजुलाई गरेको आदर सत्कार, मायाको यो दृश्यले आफूभन्दा ठूलालाई आदरसत्कार कसरी गर्नुपर्छ भन्ने शिक्षा प्रदान गरेको छ । मानिसले बाच्नका लागि खानु पर्छ, श्वास लिनु परे जस्तै एउटा सभ्य मानिसले ठूलाहरुलाई आदर सत्कार गर्न जरुरी हुन्छ ।

माया: दशैंमा ठूलाले सानालाई टिका लगाइदिएर आशीर्वाद दिन्छन् । उनीहरुको भलो चिताएर माया, ममता प्रकट गरिने यस चाडले हामीलाई आफ्ना कर्मचारीहरु तथा सहयोगीहरुको भलो चिताउनुपर्छ, उनीहरुको प्रगतिको कामना गनुपर्छ भन्ने सन्देश दिएको छ ।

दशैंमा दिएको माया, स्नेहले १ वर्षभरि हामीलाई सकारात्मक एवं निकट बनाउने भएकोले हामीले आफ्ना परिवार, साथीभाइ तथा सहकर्मीहरुको भलो चिताएर उनीहरुलाई पनि सकारात्मक एवं निकट बनाउन सकिन्छ भन्ने शिक्षा प्राप्त गर्न सकिन्छ ।

ठूलाले माया दिएनन् भने सानाहरुले पनि आदर नदिन पनि सक्छन् । जति ठूला मानिस भए पनि साना टिका थाप्न गएनन् भने उनीहरुको दशैं खल्लो हुन्छ त्यसैले परिवार, साथीभाइ तथा सहकर्मीहरुलाई माया दिएमा उनीहरुले पनि आदरसत्कार गर्छन् ।

इच्छा पूरा गर्नु: दशैंले धेरै मानिसहरुको इच्छा तथा मनोकामना पुर्‍याउने साइत जुराइदिन्छ । यो संसारमा सबै मानिसहरु केहि न केहि अभावमा बाँचिराखेका हुन्छन् । परिवारसँग समय बिताउने, घुम्न जाने, मिठो मिठो खाने, राम्रो राम्रो लाउने आदि ।

मानिसहरुले दशैंलाई यस्ता इच्छा वा लक्ष्यहरु पूरा गर्ने साइतको रुपमा लिएको देखिन्छ । यस्ता बिभिन्न इच्छा वा लक्ष्यहरु जस्तै मानिसले जिन्दगीमा लक्ष्यहरु लिएर पूरा गर्ने दृढ संकल्पसहित अगाडि बढ्यो भने सफल हुन्छ भन्ने दशैंबाट सिक्न सकिन्छ ।

मानिसहरु ठूला ठूला इच्छाको पछाडि दौडिँदा साना-साना इच्छाहरु मारेर वा दबाएर राखेका हुन्छन् । हामीले ससानो इच्छा वा सपनामा पनि खुसी पाउन सक्छौं त्यसैले साना वा ठूला इच्छामा रमाउने र सोहीअनुसारको योजना बनाएर अगाडि बढ्दा राम्रो हुन्छ ।

भारतका अन्तराष्ट्रिय उत्प्रेरक शिव खेराले भनेका छन्,’ Dream is not that comes when you sleep, it is that which doesn’t allow you to sleep. अर्थात् सपना त्यो होइन जुन निन्द्रामा देखिन्छ, सपना त्यो हो जसले निदाउन दिँदैन । सानो होस् या ठूलो होस् सपना पूरा गर्दै जानु पर्छ, जबसम्म सपना पूरा हुँदैन त्यसमा खटिरहनुपर्छ ।

सबैको दिन आउँछः अंग्रेजीमा भनाइ छ: Every dog has a day. जस्तोसुकै गरिब मानिस किन नहोस् अन्य दिनहरुमा जस्तो खाए पनि जस्तो लाए पनि दशैंमा राम्रो लाउने, मिठो खाएका हुन्छन् । त्यसैले हामीले जिन्दगीमा सफलता हाँसिल भएन भनेर निराश हुनु हुँदैन । सबैको दिन आउँछ, दिनपछि रात आउँछ, रातपछि फेरि दिन आउँछ ।

एउटा अध्यारो कोठामा बसेको मानिसलाई दिनरात उस्तै लाग्छ । तर, यथार्थमा दिन उसको लागि पनि आएको हुन्छ तर, उसले त्यसलाई पहिचान गर्न नसकेको मात्र हो, त्यसैले आज मैले प्रगति गर्न सकिन, म बढुवा हुन सकिन आदि इत्यादि कुरामा अल्झिनु हुँदैन । आफ्नो दिन पहिचान गर्न तयार भएर बस्नुपर्छ ।

योजना तर्जुमाः प्राय मानिसहरुले अधिकांश समय ठोस योजना बनाएका हुँदैनन् । तर, दशैंको लागि भने किनमेलको लागि पैसाको बन्दोबस्त, बिदाको सदुपयोगको योजना, मनोरञ्जन आदिको लागि योजना बनाएका हुन्छन् ।

कतिपयले त १ महिना अघिदेखि नै योजना बनाउँछन् र फलस्वरुप उनीहरुले दशैंलाई सम्झनलायक तरिकाले धुमधामसँग मनाउँछन् । यदि हामीले कुनै पनि काम सम्पन्न गर्नको लागि राम्रोसँग योजना तर्जुमा गर्यौं भने त्यसको प्रतिफल पनि राम्रो राम्रो हुन्छ भन्ने यसको सन्देश हो।

दिनुपर्छ भन्ने भावनाः जस्तोसुकै कठोर मानिस वा कन्जुस मानिस भए पनि उसले दशैं मनाउनको लागि पैसा वा अन्य केहि सहयोग मागेमा सकभर सहयोग गर्छ किनभने उसमा दशैं सबैले मनाओस्, उ पनि खुसी होस् भन्ने भावना हुन्छ । यो महान चाडले अरुलाई सहयोग गर्नुपर्छ, अरुलाई पनि खुसी बनाउने भावना विकाश गराएको देखिन्छ ।

दुईजना गरिब मानिसहरुको भक्तिबाट प्रसन्न भएर भगवानले बरदान माग्न भन्नुभएछ । पहिलो मानिसले भनेछ- प्रभु म गरिबको घरमा समेत माग्नको लागि जोगीहरु आइरहन्छन् । मैले कसैलाई केही दिनु नपरोस् तर, सबैले मलाई दिओस् ।

अर्कोले भनेछ- प्रभु मसँग जोजो माग्न आउँछन् कसैलाई पनि खाली हात फर्काउन नपरोस् । दुबैलाई भगवानले तथास्तु भन्नुभएछ । पहिलो मानिस जसले कसैललाई केही दिन नपरोस् भनेर मागेको थियो, भिखारी भएछ दोश्रो मानिस जसले कसैलाई पनि खाली हात फर्काउन नपरोस् भनेको थियो उ गाउँको धनी व्यक्ति बनेछ ।

दिने मानिस गरिब हुँदैनन् र उसको हात सधैं माथि नै हुन्छ । तल त लिने मान्छेको हात हुन्छ त्यसैले हामीले दिने बानी बसाल्नुपर्छ चाहे त्यो धनहोस् वा ज्ञान होस् । Be a giver अर्थात सहयोगि बनौं, दिने बानी बसालौं ।

स्वतन्त्रताः दशैंको सबैभन्दा ठूलो उपलब्धि मानिसहरुले स्वतन्त्रता पाउनु हो । अहिलेको प्रतिस्पर्धात्मक जमानामा मानिसहरुले ब्यस्तताले गर्दा आफ्नै परिवारलाई पनि राम्रोसँग समय दिन नसकिरहेको अवस्थामा दशैंको बेला साना ठूलासँगै खानपिन गर्दै रमाइलो गर्छन् ।

बुवाआमाले पनि आफ्ना छोरा छोरीहरुलाई दशैं हो रमाइलो गरोस् अर्थात उसले चाहेको गरोस् भनेर अलि स्वतन्त्र नै छाडिदिन्छन् । फिलिप र्‍यानडल्पले भनेका छन्, ‘Freedom is never given; it is won. अर्थात् स्वतन्त्रता कहिल्यै दिँइदैन यसलाई प्राप्ति गर्नुपर्छ ।

दशैंमा मानिसहरु सबैचिज छाडेर स्वतन्त्रता प्राप्तिको लागि प्रयास गर्ने भएकोले यस समयमा उनीहरु बढीभन्दा बढी खुसी हुन्छन् । यदि हामीहरुले दशैंमा जस्तै अन्य दिनहरुमा पनि स्वतन्त्रताको प्राप्ति गर्न खोज्यौं भने दशैंमा जस्तै खुसी हुन सकिन्छ भन्ने दशैबाट शिक्षा प्राप्त गर्न सकिन्छ ।

दशैंबाट सिक्न सकिने अन्य धेरै कुराहरु पनि छन् । तर, माथि उल्लेखित कुराहरुलाई मात्र भए पनि हामीले अनुशरण गर्न सकियो भने हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ र अनुशासित ढंगले मनाउन सकियो भने मानवीय स्वास्थ र समाजिक बाताबरणमा राम्रो योगदान दिन सकिनेछ । बडा दशैं तथा तिहारको हार्दिक मंगलमय शुभकामना ।

(लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।)

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ००:००  १२ : ४४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping