
काठमाडौं । तेह्रथुमको निर्वाचन परिणाम सार्वजानिक भएको छ । नेपाली कांग्रेसकी सीता गुरुङ एमालेका बिजय सुब्बाभन्दा १०७९ मत बढी ल्याएर निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
गुरुङले १९७०२ मत ल्याएकी छन् भने सुब्बाले १८६२३ मत ल्याएका छन् । जिल्लामा कूल ४१ हजार १ सय ८० मत खसेको थियो ।
बिजय सुब्बा एमालेबाट २०५६ सालमा सांसद निर्वाचित भएका थिए भने सीता गुरुङ पहिलोपटक सांसदको चुनाव उठेकी हुन् ।
तेह्रथुम जिल्ला एमालेको लालकिल्ला मानिन्छ । यसअघि २०१५ र २०६४ सालमा मात्रै कांग्रेसले जितेको थियो । ०६४ सालमा कांग्रेसबाट सांसदमा निर्वाचन भएका तुलसी सुब्बाले यो पटक खुलेरै कांग्रेसकी उम्मेद्वार गुरुङलाई हराउन लागेका थिए ।
म्याङलुङ र छथरमा तुलसी सुब्बाको राम्रो प्रभाव क्षेत्र मानिन्छ । जिल्लाभर करीब २ हजार जति कांग्रेसका मत उनले एमालेमा हाल्न लगाएको अनुमान गरिएको स्वयं कांग्रेसका नेता बताउँछन् ।
एमालेको संगठन राम्रो भए पनि एमालेकै सदस्यहरुले बिजय सुब्बालाई भोट हालेनन् । दशकअघि जातीय राजनीति उत्कर्षमा पुगेका बेला सुब्बाले क्षेत्री बाम्हणलाई आफ्नो क्षेत्रबाट काटेर लखेट्ने बताएका थिए । उनको उक्त अभिव्यक्तिका कारण ठूलो संख्यामा रहेको क्षेत्री ब्राम्हण समुदाय उनीसँग आक्रोसित भएको थियो ।
जसकारण गुरुङले पार्टीभित्रै बाट अन्तर्घात हुँदा पनि चुनाव जित्न झन्डै ११ सय मतको फरकले सफल भएकी छन् ।
कांग्रेसका तुलसी सुब्बाले गरेको अन्तर्घातका कारण प्रदेश सभामा युवा नेता सन्तोष निङ्लेखु एमालेका किशोस दुलालसँग झिनो मतान्तररले पराजित भएका छन् ।
२०५६ सालमा राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उठेर हारेका तुलसी सुब्बा पछि कांग्रेस प्रवेश गरेका थिए । २०६४ मा चुनाव जितेका उनले ०७० मा हारेका थिए । ०७४ र ०७९ को चुनावमा टिकट पाएनन् । यो चुनावमा टिकट नपाएपछि तुलसीले कांग्रेसका उम्मेद्वार हराउन खुलेआम लागेको जिल्लाका नेता कार्यकर्ता बताउँछन् ।
SHARE YOUR THOUGHTS