अहिलेको निर्वाचन प्रणालीले संवैधानिक संकट ल्याउने खतरा छः सांसद भट्टचन « Eglish Khabarhub

अहिलेको निर्वाचन प्रणालीले संवैधानिक संकट ल्याउने खतरा छः सांसद भट्टचन



काठमाडौं । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले हालको निर्वाचन प्रणालीले मुलुकमा संवैधानिक संकट आउने खतरा भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै भट्टचनले अहिलेको निर्वाचन प्रणालीका कारण संवैधानिक संकट आउन लागेको बताएका हुन् ।

‘‘नेपालको संविधानअनुसार संघीय परिषदको मिश्रित निर्वाचन प्रणालीले देशमा संवैधानिक संकटको अवस्था आउँछ भन्ने मलाई लागेको छ,’ प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल एमालेलाई, ०७९ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई र गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई प्रत्यक्षबाट १८ जना निर्वाचित भए, समानुपातिकबाट ९ जना हुँदा २७ जना हुँदा टाइब्रेक जस्तो भयो। ३३ प्रतिशत पुर्‍याउनुपर्ने हाम्रो बाध्यताले संवैधानिक संकट छिटो ढिलो आउनेछ ।’

सांसद् भट्टचनले यसमा ध्यानाकर्षण हुनुपर्नेमा पनि जोड दिए ।

सँगै उनले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिनसमेत माग गरेका थिए । हवाई दुर्घटना, पानीजहाज र नागरिकतासम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउनु पर्नेमा पनि उनको जोड थियो ।

Publish on: