कार्यदलले बुझायो प्रदेश १ सरकारलाई न्यूनतम साझा कार्यक्रम « Eglish Khabarhub

कार्यदलले बुझायो प्रदेश १ सरकारलाई न्यूनतम साझा कार्यक्रम



विराटनगर । सत्ता गठबन्धनको साझा कार्यदलले तयार गरेको प्रदेश १ को न्यूनतम साझा कार्यक्रम सरकारलाई बुझाएको छ । सरकारमा सहभागी चार दलका तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले मंगलबार मुख्यमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम बुझाएको हो ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतककुमार कार्कीका स्वकीय सचिव सुवास श्रेष्ठका अनुसार कार्यदलले १९ बुँदा रहेको प्राथमिकता र विभिन्न ११ शीर्षकमा कार्यक्रमहरु समावेश गरेर कार्यक्रम बुझाएको हो ।

कार्यक्रममा आगामी पाँच वर्षको प्रदेश १ को कूल ग्राहस्थ उत्पादन (जीडीपी) ७० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ ।

जसअनुसार त्यस्तै ५ वर्षमा हालको कूल गार्हस्थ्य उत्पादन ७ खर्ब ६३ अर्ब रूपैयाँमा ७० प्रतिशत वृद्धि गरी १२ खर्ब २० अर्ब रूपैयाँ पुर्‍याउने लक्ष्य पनि लिइएको छ ।

साझा कार्यक्रममा दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ तथा प्रदेश १ को वस्तुगत लक्ष्य ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ प्राप्तिका लागि भन्दै १९ वटा मुख्य प्राथमिकता तोकिएको छ ।

जसमा प्रदेशसभाबाट प्रदेशको नामाकरण गर्ने, प्रदेश सरकार सम्वद्ध मन्त्रालय, आयोग, निर्देशनालय तथा कार्यालयहरूको आवश्यक प्रशासनिक संरचना (भौतिक संरचना) निर्माण गर्ने, संघीय सरकार मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने उल्लेख छ ।

प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि पूर्वआर्थिक मामिला मन्त्री माओवादी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा कार्यदल बनेको थियो ।

सो कार्यदलमा नेकपा (एमाले) का रेवतीरमण भण्डारी, रामबहादुर राना मगर, राप्रपाका प्रेमराज थाम्सुहाङ र जनता समाजवादी पार्टीका नेता राजकुमार यादव रहेका थिए ।

Publish on: