
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले आफूले संसदमा विस्तारै अनुभव हासिल गरिरहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वाग्लेले सिकारु सांसद भएकाले विस्तारै अनुभव हासिल गर्ने क्रममा रहेको बताए ।
आफूलाई धेरैले सांसद हुँदा कस्तो हुने रछ भन्दै प्रश्न गर्ने गरेको भन्दै वाग्लेले भने ‘टाइम कन्सियस चाँही बनाइ दिँदो रहेछ संसदले । त्यो एक मिनेटको शून्य समयमा झ्याप्प माइक काटिने हो कि भनेर ५० सेकेन्डको मात्र स्कृप्ट तयार गर्नु पर्ने ।’
दलगत पालोमा बोल्दा केही अतिरिक्त समय पाइँदा पनि त्यसका लागि आफूले मोबाइलमा टाइम सेट गरेर रोस्ट्रममा गएको उनले बताए ।
‘नेपाल हो, सभामुख र मेरो घडी फरक होला । त्यसैले १० मिनेटको समय पाउँदा ९: ४५ मिनेटको टाइमर राखेर मिलाएको थिएँ, कतिपयले ग्याजेट लगेर रोस्टमबाट बोलेछ भनेर कमेन्ट गर्नुभयो ‘ उनले भने ।
गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा तनहुँ १ बाट वाग्ले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।