विशाल ग्रुपको दादागिरी, नियामकलाई अटेरी गर्दै जनता ठग्न सक्रिय « Eglish Khabarhub

विशाल ग्रुपको दादागिरी, नियामकलाई अटेरी गर्दै जनता ठग्न सक्रिय



काठमाडौं । राज्यसत्तामा बस्नेसँग पैसाको मोलमोलाई गरेर साम्राज्य विस्तार गर्दै आएको विवादास्पद व्यापारिक घराना विशाल ग्रुपले नियोजित रुपमा जनता ठग्न लागेको अर्को घटना सार्वजनिक भएको छ ।

व्यवसायका नाममा आमउपभोक्ता ठगी गर्दै आएको यो समूहले संगठितरुपमै नियामक निकायलाई अटेरी गरी सर्वसाधारण ठग्ने धन्धाको पर्दाफास भएको हो ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई पटक-पटक अटेरी गरी विशाल ग्रुपले घोराही सिमेन्टलाई सर्वसाधारणलाई ठगी गर्न सहयोग गरेको छ । कानुनविपरीत आफ्नै लगानीको कम्पनीको रेटिङ गरी राम्रो अंक दिएको भन्दै सोमबार धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासनको प्रक्रिया रोकेको छ ।

घोराही सिमेन्टको रेटिङ विशाल ग्रुपको लगानी रहेको केयर रेटिङ नेपालले गरेको थियो । घोराही सिमेन्टमा त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । त्रिवेणी समूह संघाई परिवारको हो । संघाई परिवार र विशाल ग्रुपका अग्रवालबीच पारिवारिक सम्बन्ध छ ।

यसरी विशाल ग्रुप र त्रिवेणी ग्रुप मिलेर सर्वसाधारण ठगी गर्ने नियतले प्रिमियम मूल्यमा घोराही सिमेन्टको आईपीओ निकालेका थिए । कम्पनीको सार्वजनिक निष्कासन रोकिएपछि लगानीकर्ताको पैसा कति समय रोकिने हो भन्ने चासो सुरु भएको छ । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ १-२ दिनमा नै त्यसको टुंगो लाग्ने बताउँछन् ।

घोराही सिमेन्टको सेयरमा १ करोड २० लाख कित्ता सेयरका लागि फर्जी आवेदन परेपछि धितोपत्र बोर्डले कम्पनीको सेयर बिक्री स्थगन गरेको हो । यसमा बोर्डले कम्पनीको सेयरमा फर्जी आवेदनभन्दा पनि केयर रेटिङले तोकेको समयमा जवाफ दिएन भनेर सेयर निष्कासन स्थगन गरेको जनाएको छ ।

बोर्डले केयर रेटिङ र घोराही सिमेन्टबीच कुनै स्वार्थको द्वन्द्व छ कि भन्दै अनुसन्धानका लागि सेयर निष्कासन स्थगन गर्नुपरेको जनाएको छ। केयर रेटिङ नेपालले घोराही सिमेन्ट इण्डष्ट्रीको रेटिङ गरेको छ । रेटिङले घोराही सिमेन्टलाई ट्रिपल बी (बीबीबी) रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको जनाउँछ ।

उक्त रेटिङ नै क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम (२) विपरीत भएको आशंका छ । आशंका लागेपछि बोर्डले उक्त नियमअनुसार भए/नभएको बारेमा केयर रेटिङ नेपाललाई जेठ ३० गते नै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर, केयर रेटिङले धितोपत्र बोर्डको निर्देशन अटेरी गर्दै आजसम्म पनि जवाफ नपठाएको बोर्डका प्रवक्ता श्रेष्ठले बताउँछन् ।

रेटिङ र घोराही सिमेन्टमा स्वार्थको द्वन्द्व देखिएको बोर्डले जनाएको छ । बोर्ड स्रोतका अनुसार समयमै कम्पनीले जवाफ नदिई रेटिङले पहिला सेयर बिक्री गरिसकौं र बोर्डले सोधेको स्पष्टीकरण पेस गरौंला भन्ने मनसाय राखेको देखिएको छ । कम्पनीले अंकित सेयर मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।

रेटिङ कम्पनीको नियत निकै खराब देखिएको बोर्डका एक उच्च अधिकारीले बताए । उनले भने, ‘रेटिङले पहिला आईपीओ बेचौं, अनि मात्रै जवाफ दिँदा हुन्छ भन्ने मनसाय राख्यो । अहिले आईपीओमा पनि फर्जी आवेदन पर्ने, बोर्डले सोधेको प्रश्नको जवाफ पनि नदिने गरेका कारण यसमा समस्या छ भन्ने आशंका छ ।’

एकै व्यक्तिको दुबैतिर लगानी भएको र आफ्नै कम्पनीमा रेटिङ गरेको बोर्डको तर्क छ । ‘घोराही सिमेन्ट र केयर रेटिङ दुबैतिर एकै व्यक्तिको लगानी छ कि छैन भनेर सोधेको हो, एकै मान्छेले घोराहीमा पनि, रेटिङमा पनि सेयर लिएको छ कि छैन भनेर सोधेको हो,’ बोर्डका एक कर्मचारीले भने, ‘प्रश्न सोध्दा जवाफका लागि थप ३ दिनको समय मागियो,  त्यसको मतलब सेयर बिक्री गरिसकौं अनि मात्रै जवाफ दिने भन्ने आशय देखियो । यो भनेको संगठित रुपमा सर्वसाधारण ठग्ने नियत हो ।’

बोर्डका अनुसार केयर रेटिङले स्पष्टीकरण पेस नगरी कुनै आधारबिना म्याद थपका लागि अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनको मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुँझ आवश्यक रहेको बोर्डले जनाएको छ । रेटिङको यो मात्रै पहिलो बदमासी होइन । यसअघि पनि ठूलै बदमासी गरेपछि धितोपत्र बोर्डले स्पष्टीकरणसमेत सोधिसकेको छ ।

धितोपत्र बोर्डले नियमविपरीत रेटिङ गरेको भन्दै २०७९ पुस चौथो साता किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । कम्पनीले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।

उक्त कम्पनीले क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै रेटिङ नियमावली २०६८ अनुसार रेटिङ रद्द किन नगर्ने तथा केयर रेटिङ नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भनी स्पष्टीकरण पेस गर्न भनेको थियो ।

बोर्डले पटक-पटक तोकता गरेपछि कम्पनीले जवाफ पठाएको छ । बोर्डले तत्कालीन समयमा छानबिन समिति नै गठन गरेर अध्ययन कार्य अघि बढाएको थियो । सोही अध्ययनको निष्कर्षपछि बोर्डले स्पष्टीकरण सोधेको हो ।

पुस चौथो साता नै बोर्डले स्पष्टीकरण सोधेर रेटिङले जवाफ पठाइसकेको भए पनि र बोर्डले कम्पनीलाई कारबाही गर्ने यथेष्ट प्रमाण पाएको बताइएको छ । पाँच महिनासम्म पनि बोर्डले उक्त जवाफ सञ्चालक समितिमा पेस गरेको छैन ।

विशाल ग्रुपको केयर रेटिङलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो घर्रामा फाइल थन्क्याएर राखेका छन् । उक्त समयमा अध्ययनबाट गल्ती देखिएपछि बोर्डले आवश्यक कारबाही गरेको भए अहिलेको अवस्था आउने थिएन ।

क्रेडिट रेटिङको नियमवलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने स्पष्ट उल्लेख गरेको छ ।

साथै, क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य सेयरधनी वा मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न पाउने छैन भनी नियमावलीमा व्यवस्था गरेको छ ।

प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आफैंले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तीमा १० प्रतिशत सेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको वा क्रेडिट रेटिङ संस्था आफैँ वा मुख्य कम्पनी वा सहायक कम्पनीसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १० प्रतिशतभन्दा कम नहुने गरी सेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको कम्पनीको रेटिङ गर्न नपाउने व्यवस्था छ ।

विशाल ग्रुपले उद्योग तथा ट्रेडिङ कम्पनी कमला रोलिङ मिल, यती ब्रुअरी, ग्रिन भेन्चर, मैनाबत्ती स्टिल, युनाइटेड डिस्ट्रिब्युटर, प्यारामाउन्ट मोटर्स, भिजी अटोमोबाइल्स, एड्भान्स अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ, कन्सर्न, लाइफ केयर डिस्ट्रिब्युसन तथा घोराही सिमेन्ट इष्डष्ट्रीको रेटिङ गरेको छ । जबकि, यी कम्पनीमा विशाल ग्रुपकै व्यक्तिको लगानी छ ।

Publish on: