इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो ।
रमडाको मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतबिच भारतको दिल्लीमा होटल सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवशायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताएका छन् ।
उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा विंडहाम होटलस् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे ।
यस्तो हुनेछ होटल
निर्माणाधीन पाँचतारे उक्त होटलमा कुल ८ तला र ८० वटा कोठा हुनेछन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन् ।
भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरुलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवशायीक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ ।
होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।
के हो रमडा ?
विंडहाम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनी मानिन्छ । यो अमेरिकी कम्पनिले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ ।
बस्नेतले हालै मात्र काठमाडौंमा निर्माणाधीन पाँचतारे होटलमा एक्कोर समूहको मक्र्योर ब्राण्ड भित्राएका थिए । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा नेपालको पर्यटन विकासमा व्यवसायीहरुको संस्थागत नेतृत्व गरिरहेका छन् ।
यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट संचालनमा ल्याउन लागेका छन् ।
पेसाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्यदूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।
SHARE YOUR THOUGHTS