मेन स्टोरी राइट

अख्तियारको पत्रपछि महानगरको निर्देशन: जनप्रतिनिधि र कर्मचारीले सम्पत्ति विवरण बुझाउनू



काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई सम्पत्ति विवरण भरेर बुझाउन निर्देशन दिएको छ ।

महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले महानगरका सबै विभाग/सचिवालय/इकाइ/आयोजना र सबै वडा कार्यालयलाई सम्पत्ति विरण बुझाउन आन्तरिक सर्कुलर जारी गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु नियुक्ति पाउने सार्वजनिक पद धारण गरेको पदाधिकारी र कर्मचारीहरुले नियुक्ति पाएको मितिले साठी दिनभित्र र हरेक आर्थिक वर्ष सुरु भएको मितिले साठी दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न भनेपछि महानगरले सबै कर्मचारी र प्रतिनिधिलाई उक्त नियमको कार्यान्वयन गर्न भनेको हो ।

‘अख्तियारको निर्णय अनुसार कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको सम्पति विवरण तोकिएको समय भित्र भर्न लगाई यस विभागमा पेश गर्ने व्यवस्था मिलाई दिनु हुन अनुरोध गर्दछु’ प्रशासन विभाग प्रमुख अधिकारीले जारी गरेको आन्तरिक सर्कुलरमा भनिएको छ ।