नेकपा एसका नेताहरु नै पार्टी नेतृत्वप्रति असन्तुष्ट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छ्न् ।

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका हुन् । उनीहरुले संसद बैठकनै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए ।

संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । संसद बैठकनै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरुले राखेको उनले बताए ।

उपमहासचिव तुलाधरले भने, ‘संसदलाई संसद जस्तो गरिमामय बनाउने हिसावले विषयबस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्‍यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन्’ उनले भने ।

हिजो (शनिबार)बाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ।

एकीकृत समाजवादीले पार्टीको आसन्न १० औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो ।

उपमहासचिव तुलाधरका अनुसार अव भदौं पहिलो साता बस्ने पोलिटव्युरो र केन्द्रिय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ ।