![](https://internal.appharu.com/wp-content/uploads/2021/09/Nagdhunga-1-768x473.jpg)
काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।
२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङमार्ग निर्माणको काम सोमबारदेखि सकिने छ । अब एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको र आज टनेल ‘ब्रेक थ्रु’ हुनेछ ।
सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिएका छन् ।
मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ ।
सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।
कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।
SHARE YOUR THOUGHTS