![](https://internal.appharu.com/wp-content/uploads/2023/08/radha-pokhrel-768x403.jpg)
काठमाडौं । सेयर बजार परिसूचक नेप्से मौद्रिक नीतिपछि २०८ अंकले घटेको छ । मौद्रिक नीति जारी भएको दिन कात्तिक ७ गते ६३.२४ अंकले बढेर २२२७.१६ अंकमा उक्लिएको नेप्से मंगलबार २०१९.८५ अंकमा ओर्लिएको हो ।
यसबीचमा १२ दिन कारोबार हुँदा ९ दिन बजार घटेको छ भने ३ दिन बढेको छ । नेप्से परिसूचक साउन ८ गते २६.६६, ९ गते ३६.१९, १० गते ८.११, ११ गते २९.७१, १४ गते २६.१४ र साउन १६ गते बजार २८.५९ अंकले घटेको छ ।
गत साताका तीन दिन भने बजार सामान्य बढेको थियो । गत साता साउन १५ गते ५.८४, १७ गते ९.२५ र १८ गते ३ अंकले बजार बढेको थियो ।
यो साता बजार लगातार घटेको छ । आइतबार ३८.३७, सोमबार ३.२१ र मंगलबार २८.४ गरी साताका तीन दिनमा नेप्से ६९.९८ अंकले घटिसकेको छ ।
सेयर धितो कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख भएको मौद्रिक नीति दिउँसो १ बजे नै सार्वजनिक हुँदा बजार उच्च दरले बढेको थियो ।
मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० प्रतिशतमा झार्ने बताए । भोलिपल्ट देखि नै बजार घट्न थाल्यो ।
राष्ट्र बैंकले सर्कुलर जारी गरी बैंकहरुलाई सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल राष्ट्र बैंकले जहिल्यै पनि सेयर लगानीकर्तालाई अन्योल बनाउन खोजेको बताउँछिन् ।
‘हामीले जोखिम भार १०० मा झार्नुपर्छ भनिरहेका थियौं,’ उनले भनिन्, ‘कारोबार भइरहेकै बेला मौद्रिक नीति सार्वजनिक गरियो, सबै पुनरावलोकनका कुराले सबै उत्साहित भए तर बजार बन्द भएपछि आयोजित पत्रकार सम्मेलनमा सबैलाई होइन है, ५० लाखसम्मका लागि मात्र हो भनेर आएपछि सबै निरुत्साहित बनेका छन्, बजारमा त्यसकै असर देखिएको हो ।’
यसबाहेक ब्याजदर नघटेका कारण पनि बजार सकारात्मक बन्न नसकेको उनको बुझाइ छ । ‘ब्याजदर घट्यो भने पनि खासै घटेको छैन,’ उनले भनिन्, ‘मार्जिन लेन्डिङ लिइसकेकाले थप लिन सक्ने स्थिति छैन, मानिससँग पैसा छैन, राष्ट्र बैंकले ठूला लगानीकर्ताको हित हर्ने चाहेन, सानाले मात्रै बजारमा कारोबार बढाउन सक्दैनन् ।’
SHARE YOUR THOUGHTS