![](https://internal.appharu.com/wp-content/uploads/2023/06/Lampi-skin-768x403.jpg)
काठमाडौं । सरकारले ९ लाख पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाएको छ । पशु सेवा विभागकाअनुसार यो रोगबाट संक्रमित भएका १५ लाख १९ हजार ७ सय ७९ पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको हो ।
यो रोगबाट संक्रमित भएका गाई, भैंसी, गोरु, राँगा, बाच्छाबाच्छी तथा पाडापाडीमध्ये ९ लाख १९ हजार ४ सय १६ लाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको हो ।
कोशी प्रदेशको मोरङस्थित सुन्दरहरैंचा नगरपालिकाबाट सुरु भएको यो रोग अहिले ७७ वटै जिल्लामा फैलिएको छ । मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरुपमा नियन्त्रणमा आइसके पनि ७५ जिल्लाका पशुहरुमा यो रोगको संक्रमण अझै कायम छ । हाल कर्णाली, सुदुरपश्चिम, लुम्बिनी र कोशी प्रदेशको मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित रहेको बताइएको छ ।
विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार यो रोगबाट संक्रमित भएका ५२ हजार ५ सय ४८ वटा पशु मरेका छन् । अहिले पनि ७३ हजार ७ सय ३७ वटा पशु संक्रमित छन् । यस्तै उपचार पछि १३ लाख ९३ हजार ५ सय ९५ पशुहरु निको भएका छन् ।
यो रोगबाट पशुहरुलाई जोगाउन हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको छ । विभागको सिफारिशमा आयातकर्ताले जोर्डन, तान्जानियाँ र टर्कीबाट यो रोगविरुद्धको खोप आयात गरिरहेका छन् ।
नियन्त्रण गर्न के गर्दैछ संघीय मन्त्रालय ?
ढकालकाअनुसार महामारीकारुपमा फैलिएको यो रोग नियन्त्रणका लागि राष्ट्रव्यापीरुपमा वृहत् खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने विभागको भनाइ छ ।
यसका लागि भारत र चीन सरकारसँग निःशुल्क खोप उपलब्ध गराइदिन आग्रह गरि सकिएको छ । यस्तै स्वदेशमै लम्पी स्किनविरुद्धको खोप उत्पादन गर्न मास्टर सिड भाइरस निःशुल्क उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरिसकेका छन् ।
यसबाहेक विश्व पशु स्वास्थ्य संगठनले प्रकोप नियन्त्रणका लागि वैकल्पिक उपायको रुपमा सिफारिश गरेको गोट पक्स खोप प्रयोग गर्ने सकिने सिफारिश विकल्पको रुपमा आएकाले पशु सेवा विभागलाई यो रोग नियन्त्रणका लागि लम्पी स्किन (निथ्लिङ स्ट्रेन) खोपको अतिरिक्त परिमाण आयात र प्रयोग गर्न सहमति प्रदान गरिएको छ ।
विभागले यो रोग नियन्त्रण गर्न चालु आर्थिक वर्षमा दुई प्रकारको कार्यक्रमसमेत कार्यान्वयनमा ल्याएको छ । जसअनुसार लम्पी स्किन रोग नियन्त्रण गर्न १ सय ६१ स्थानीय तह ‘एक पालिका एक भेटेरिनरी चिकित्सक’ कार्यक्रममार्फत चिकित्सक परिचालन गर्ने र प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रणका लागि संघीय शसर्त अनुदान अन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ ।
रोगको प्रकोप नदेखिएको क्षेत्रका पशुलाई खोपलगाउन आवश्यक रहेको विभागले जनाएको छ । रोगको प्रकोपको आधारमा हिउँदभित्र कम्तिमा ५० लाख पशुलाई यो रोगविरुद्धको खोप लगाउनुपर्ने देखिएको प्रवक्ता ढकालले जानकारी दिए ।
जनशक्तिको अभावमा सबै पालिकामा ‘एक पालिका एक भेटेनरी चिकित्सक’ र ‘एक गाउँ एक प्राविधिक’ कार्यक्रम समावेश नभएकाले सबै पालिकामा चिकित्सक र सबै वडामा प्राविधिकको व्यवस्थापन गर्न ६० करोड रुपैयाँ लाग्ने विभागले जनाएको छ । यस्तै रोग नियन्त्रणको लाग आवश्यक औषधी खरिद र आपूर्ति गर्न प्रत्येक स्थानीय तहमा ५ लाख रुपैयाँका दरले ३७ करोड ६५ लाख रुपैयाँ आवश्यक परेको छ ।
विभागले यो रोग नियन्त्रण गर्न कार्ययोजना बनाएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । मन्त्रालयका सहसचिब रामनन्दन तिवारीकाअनुसार विभागले आवश्यक कार्ययोजनासहित ६५ करोड रुपैयाँ माग गरेको बताए ।
‘उक्त प्रस्तावको बारेमा छलफल भइरहेको छ,’ तिबारीले क्लिकमान्डुसँग भने, ‘आवश्यक छलफल गरि मन्त्रालयबाट निर्णय गरि सहमतिको लागि अर्थमन्त्रालय पठाउने तयारी छ ।’
पालिकाको सहयोगमा यसरी नियन्त्रण गर्दैछ प्रदेश सरकार
यो रोगबाट पशुलाई जोगाउन प्रदेश सरकारहरुले आन्तरिकरुपमा तयारी गरि आवश्यक योजनालाई कार्यान्वनयमा ल्याइसकेको छ । जसअनुसार कोशी प्रदेश सरकारले खोप खरिद गर्न ५० लाख, आकस्मिक रोग नियन्त्रणको लागि हरेक जिल्लामा २ देखि ३ लाख र मन्त्रालयमा ६० लाख रुपैयाँ विनियोजन गरेको छ । कोशी प्रदेशले पालिकासमेतको सहकार्यमा खोप कार्य सञ्चालन गरि हालसम्म २ लाख २५ हजार ९ सय ४२ पशुहरुमा खोप लगाउने काम सम्पन्न गरेको छ ।
यस्तै मधेश प्रदेशमा संक्रमण दर सामान्य अवस्थामा रहेको विभागको भनाई छ । मधेश प्रदेशले पालिकासँग सहकार्य गरि हालसम्म २ लाख ९ सय ५ पशुमा रोगविरुद्ध खोप लगाएको छ । यो प्रदेशले खोप खरिद गर्न ५० लाख, आकस्मिक रोग नियन्त्रणका लागि प्रत्येक जिल्लामा ५ लाख बजेट बिनियोजन गरेको छ ।
यसैगरी गण्डकी प्रदेशले खोप खरिद गर्नका लागि १ करोड बजेट बिनियोजन गरेको छ । अघिल्लो आर्थिक बर्षमा खरिद भएको लम्पी स्किनविरुद्धको खोप पनि उक्त प्रदेश सरकारले अहिले परिचालन गरेको छ। यो प्रदेशले पालिकाको सहकार्यमा १ लाख ७० हजार ८ सय ५१ पशुलाई खोप लगाइसकेको छ ।
वागमती प्रदेश सरकारले खोप खरिदको लागि ६५ लाख, आकस्मिक रोग नियन्त्रणको लागि प्रत्येक जिल्लामा ५ देखि ९ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । वागमतीमा हालसम्म २ लाख ३० हजार २ सय १ पशुलाई खोप लगाइएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले खोप खरिदको लागि थप २ करोड ८३ लाख बजेट व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । यो प्रदेशले पनि पालिकाको सहयोगमा ६७ हजार १ सय ७५ पशुमा खोप लगाएको छ । कर्णाली प्रदेशले भने १९ हजार १ सय २८ पशुमा खोप लगाइसकेको छ । यसैगरी सुदुरपश्चिमका जिल्लाहरुमा हालसम्म ५ हजार २ सय १४ पशुलाई खोप दिइएको छ ।
स्वदेशमै खोप उत्पादन गर्ने तयारी
देशभरका पशुमा महामारीकारुपमा फैलिएको लम्पी स्किन रोगलाई नियन्त्रणमा ल्याउनका लागि सरकारले स्वदेशमै यो रोगविरुद्ध प्रयोग हुने खोप उत्पादन गर्ने तयारी गरेको छ ।
नेपालमै खोप उत्पादन गर्न आवश्यक पर्ने मास्टर सिड भाइरस र खोप उत्पादन प्रविधि उपलब्धताको लागि विभिन्न मुलुक तथा दातृ निकायसँग समन्वय गरिएको छ । निजी क्षेत्रका खोप उत्पादक कम्पनीले लम्पी स्किन रोगविरुद्धको होमोलोगस खोप उत्पादन गर्न आवश्यक पर्ने मास्टर सिड भाइरस, वर्किङ सिड र सेल लाइनसमेतको आयात गर्न मागअनुसार पशु सेवा विभागले आयात अनुमतिको लागि सिफारिश दिन सुरु गरेको छ ।
केहि दिनअघि प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बसेको बैठकमा मुलुकभित्रै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक पर्ने आवश्यक गृहकार्य सुरु गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले जानकारी दिएका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/Screen-Shot-2023-09-11-at-07.15.52-768x441.png)
SHARE YOUR THOUGHTS