![](https://internal.appharu.com/wp-content/uploads/2021/08/puskar-768x504.jpg)
काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुसमा अर्थ सचिवबाट हटाएका कृष्णहरि पुष्करलाई फेरि अर्थ सचिवको जिम्मेवारी दिएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतको रुचि नहुँदा–नहुँदै पुष्करलाई अर्थ मन्त्रालयमा ल्याइएको स्रोतले जानकारी दियो ।
गत पुसमा विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि पुष्कर अर्थ मन्त्रालयबाट बाहिरिएका थिए । पौडेलले तोयम रायालाई अर्थ सचिव बनाएका थिए । महत अर्थमन्त्री भएपछि गत वैशाखमा रायाको ठाउँमा पोखरेललाई अर्थमा ल्याइएको थियो ।
यसअघि २०७९ सालमा पुष्करलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थ सचिव बनाएको थियो । २०७९ सालमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट प्रकरण विवादित भएपछि मधु मरासिनीलाई हटाएर पुष्करलाई जिम्मेवारी दिइएको थियो ।
अर्थ सचिव बन्नुअघि पुष्कर २०७८ साउनदेखि राजस्व सचिव थिए । अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव भएका पुष्कर हाल प्रधानमन्त्री कार्यालयमा थिए ।
तत्कालीन संघीय मामिलामन्त्री अमनलाल मोदीसँग विवाद भएपछि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।
SHARE YOUR THOUGHTS