त्यो ९९ डलर, जसले कोरेको थियो अमेरिकादेखि नेपालसम्म ‘हाम्रो पात्रो’को यात्रा « Eglish Khabarhub

त्यो ९९ डलर, जसले कोरेको थियो अमेरिकादेखि नेपालसम्म ‘हाम्रो पात्रो’को यात्रा


८ आश्विन २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

हाम्रो पात्रोले रेमिटदेखि हाम्रो पे डिजिटल वालेटसम्म सञ्चालनमा ल्याइसकेको छ । शंकर अहिले भारत, अस्ट्रेलिया, जापान, अमेरिका र बेलायतमा पनि कम्पनी विस्तार गर्न लागिपरेका छन् । विदेशी भूमिमा नेपालको न्यास्रो मेटाउन बनाएको एपले आज शंकरलाई एकभन्दा बढी कम्पनीको मालिक बनाएको छ ।

काठमाडौं । ‘९९ डलर !’ आफूले बनाएको एप रिलिज गर्न आफैंले पैसा तिर्नुपर्ने ?’

सन् २००८ मा सूचना प्रविधि (आईसीटी) विषयमा स्नातक गर्न अमेरिका पुगेका शंकर उप्रेतीलाई पहिलो एप रिलिज गर्दा लाग्ने शुल्कले तर्सायो । विद्यार्थी जीवनमा ९९ डलर जोहो गर्न उनलाई सहज थिएन ।

शुल्क तिर्ने कि नतिर्ने ? तिरे कहाँबाट कसरी तिर्ने ?यस्तै-यस्तै तनावमा ५-६ महिना नै अल्झिए उनी ।

आमाको मुख हेर्नेदिन बिर्सेर फोन नै पो नगरिने हो कि भन्ने लागिरहन्थ्यो । तीज, बुवाको मुख हेर्ने दिन, माघे संक्रान्तिजस्ता पर्वमा परिवारसँग भेट नभए पनि बोल्न मन लाग्थ्यो । चाडपर्वका बेला परिवारका सदस्यसँग कुरा गर्दा टाढा छु भन्ने अनुभूति हुँदैन थियो उनलाई ।

त्यही अनुभूतिलाई साथमै राखिराख्न शंकर हरेक नेपाली तिथिमिति सम्झिन चाहन्थे । परिवारसँग जोडिदिने तिथिमितिले उनलाई अमेरिकादेखि नेपालसम्मको दूरी छिचोलिदिन्थ्यो ।

‘मैले नितान्त आफ्नै लागि एप बनाएको थिएँ,’ मिति एप (डिजिटल पात्रो) रिलिज गर्दा लाग्ने शुल्कले तर्सिनुपरेको अनुभव सेयर गर्दै उनी भन्छन्, ‘९९ डलर बचाउन मलाई महिना दिन लाग्थ्यो । क्याम्पसको शुल्क तिर्न दिनभरि काम गर्ने मलाई त्यो रकम एपमा खर्च गर्नु पहाड चढ्नु बराबर थियो ।’

डराउँदै-डराउँदै खर्च गरेको त्यही ९९ डलरले आज शंकरलाई व्यवसायी मात्रै बनाएको छैन, बिदेसिएका युवालाई नेपाल फर्कने बाटो पनि कोरेको छ । विदेशमा बसेर पनि नेपालमा व्यवसाय गर्न सकिन्छ भन्ने भाष्यलाई दह्रो गरी स्थापित गरिदिएको छ ।

सेलिब्रेटीको परिचय दिएको शंकरको एप आज झन्डै तीन करोड नेपालीको आफ्नो पात्रो ‘हाम्रो पात्रो’ भएको छ ।

नामले नै अपनत्व दिलाउन नेपाली मिति राखेर डिजिटल पात्रो बनाएका शंकरले सन् २००८ तिरै स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापकले बनाएको भिडियो हेरेका थिए, जहाँ मुस्किलले दुईवटा भिडियो एप कसरी बनाउने भन्ने बारेमा उल्लेख थियो ।

‘त्यतिबेला अमेरिकामा पनि एप बनाउन सहज थिएन, अहिले जस्तो गुगलमा सर्च गर्न पनि नमिल्ने,’ उनी सम्झन्छन् ।

आइफोनले सोही वर्ष नयाँ मोडलका फोनहरुमा एप बनाउन सक्ने सुविधा दियो । उनले तिनै भिडियो हेर्दै नेपाली पात्रो भएको एप बनाए । जहाँ नेपाली पर्व नेपाली अक्षरमै हुन्थे । नेपाली मितिले उनलाई नेपालसँग नजिक्याउँथ्यो, आफन्तसँग बीचबीचमा जोडिराख्थ्यो ।

त्यतिबेला एप सार्वजनिक गर्न ९९ अमेरिकी डलर तिर्नुपर्थ्यो । शंकर जोखिम उठाउन तयार थिएनन् । रातदिन गरेर कमाएको पैसाले पढाइको शुल्क तिर्नै मुश्किल भइरहेको समयमा आफ्नो प्रयोजनका लागि बनाएको एपलाई लगानी गर्नु आफैंमा जोखिमपूर्ण थियो ।

‘इन्जिनियरहरु पनि आर्टिस्ट जस्तै हुने, केही नयाँ गरिरहन मन पर्ने, झन् आफ्नो कामको अनुभव अरुले लिइरहुन् भन्ने लाग्दो रहेछ,’ उनी भन्छन्, ‘मलाई पनि एप अरुले हेरुन् र प्रतिक्रिया दिउन् भन्ने लाग्थ्यो ।’

शंकरले एकदिन सहपाठीहरुलाई एप देखाए । उनीहरुको पीडा पनि उस्तै थियो । घरमा कसैको जन्मदिन र चाडपर्वबारे बेखबर हुँदा बेलाबेलामा परिवारका सदस्यसँग माफी मागिरहनुपर्ने हुन्थ्यो । सबैलाई उनको काम मन पर्‍यो । बेनामे एपको न्वारन साथीहरुले नै गरिदिए- ‘हाम्रो पात्रो’ ।

शंकरले नाममा नेपालको झण्डा थपिदिए । अब उनलाई नामले अपनत्वमात्रै अनुभव गराएन एप चल्ने आशा पनि जगायो । ‘साथीहरुबाट राम्रो प्रतिक्रिया पाएपछि एप रिलिज गर्ने हिम्मत बढेर आयो,’ उनले भने ।

सन् २००९ मा शंकरले अमेरिकाबाटै ‘हाम्रो पात्रो’ एप रिलिज गरे । सुरुमा उनले आइफोनको एप स्टोरमा राखे । अमेरिका बसेर नेपालमा आइफोन युजरका लागि डिजिटल पात्रो बेच्न सकिएला भन्नेमा शंशय छँदै थियो । ‘पैसा तिरिसकेँ, सुरु भइसक्यो अब अघि नबढी सुखै छैन’ भन्ने सोचेर एपमा राशिफललगायतका फिचर थप्न थाले ।

नेपालमा हरेक वर्षको पात्रो नयाँ निस्कने । त्यसमाथि फागुन-चैतमा मात्रै नयाँ वर्षको संस्करण निस्किने हुँदा सुरुवाती दिनमा शंकरलाई एपमा तिथिमिति हाल्नु नै चुनौतीपूर्ण थियो ।

उनी हरेक वर्ष सकिन लाग्दा नयाँ वर्षको पात्रो नेपालमा खोज्न लगाउँथे । उनीहरुबाटै फोनमा तिथिमिति टिपेर एपमा भर्थे । एप सञ्चालनमा आएको तीन वर्षसम्म यस्तै क्रम जारी रह्यो । कहिले इमेल त कहिले फोनबाटै जानकारी लिएर एप अपडेट गर्ने काम भइरह्यो ।

रिलिज गर्ने समयसम्म उप्रेतीले आफ्नै लागि भए पनि एपमा ‘डेट कन्भर्टर टुल’देखि ‘विदेशी मुद्राको विनिमय दर ’सम्मका फिचर राखिसकेका थिए । ‘त्यतिबेला नेपालमा आइफोन बोक्ने मानिस विरलै भेटिन्थे, त्यसैले मेरो टार्गेट विदेशमा रहेका नेपाली नै थिए,’ उनी सम्झन्छन् ।

हाम्रो पात्रोले विदेशमा रहेका नेपालीमाझ लोकप्रियता कमाउँदै थियो । नभन्दै सञ्चालनमा आएको तीन वर्षमै आइफोनकै एप स्टोरबाट ५० हजार पटक डाउनलोड भयो । जति डाउनलोड संख्या थपिँदै जान्थ्यो, उनको उत्साहको उचाइ पनि उसैगरी बढ्थ्यो । उनलाई नेपालमा पनि डिजिटल पात्रो पुर्‍याउने हुटहुटी जाग्थ्यो ।

नेपालमा त्यतिबेलासम्म कमै मात्र एप थिए । शंकरले गुगल प्लेस्टोरमा पनि ‘हाम्रो पात्रो’राखे । विदेशमा रहेकाहरुबाटै हौसिएका उनलाई अब नेपालमा रहेकाहरुबाट पनि सपोर्ट मिल्न थाल्यो । नभन्दै केही वर्षमा नै हाम्रो पात्रो ५० लाखको संख्यामा डाउनलोड हुन सफल भयो ।

‘सन २०१३ मा नेपाल आएँ । प्लेनभरि मान्छेहरु मोबाइल चलाइरहेका थिए, म चिहाउँदै हेर्थें कतै मेरो एप चलाइरहेका त छैनन् ?’ उनले भने । शंकर छड्के नजरबाट कसैको मोबाइलमा हाम्रो पात्रो भेटिहाले भने मख्ख पर्थे । कतिपय समयमा त ‘आफ्नो एप’ भनेर आफैँ चिनाउँथे पनि ।

विद्यार्थी भएर अमेरिका उड्दै गर्दा शंकर विद्यार्थी थिए । पाँच वर्षपछि अमेरिकाबाट नेपाल फर्किंदै गर्दा उनी सेलिब्रेटी बनिसकेका थिए । ‘केही समय बसेर फर्किंदा त म आफैंलाई सेलिब्रेटी भएर पो जाँदैछु जस्तो अनुभूति भइरह्यो,’ उनले भने ।

ख्यालखालैमा सुरु गरेको ‘हाम्रो पात्रो’ले झन्डै डेढ दशक समय बिताइसकेको छ । यो अवधिमा प्रविधि क्षेत्रमा सुनौलो विकास देखियो । नेपालमा डिजिटल पात्रो प्रयोग गर्लान् र ? भन्ने शंकर आफैँ पनि अब डिजिटल वालेट मात्रै होइन, डिजिटल हस्पिटल र विद्यालयको परिकल्पना गर्न थालिसकेका छन् ।

केही वर्ष अघिमात्रै संसारका ३१ देशका ३१ डाक्टर हाम्रो पात्रोमा जोडिइसकेका छन्, जसले नेपालीलाई डिजिटल्ली स्वास्थ्य सेवा दिन सक्छन् ।

अहिले नेपालमा मौलिक एप प्रशस्तै भेटिन थालेका छन् । प्रतिस्पर्धा तीव्र भइरहँदा शंकर भने ४० भन्दा बढी फिचरसहित हाम्रो पात्रोलाई बहुकम्पनीको रुपमा विस्तार गर्न लागिपरेका छन् ।

उनका अनुसार हाम्रो पात्रो एप १ करोड पटकभन्दा बढी गुगलबाटै डाउनलोड भइसकेको छ । एपका सक्रिय प्रयोगकर्ता झन्डै डेढ करोड छन् ।

हाम्रो पात्रोले रेमिटदेखि हाम्रो पे डिजिटल वालेटसम्म सञ्चालनमा ल्याइसकेको छ । शंकर अहिले भारत, अस्ट्रेलिया, जापान, अमेरिका र बेलायतमा पनि कम्पनी विस्तार गर्न लागिपरेका छन् । विदेशी भूमिमा नेपालको न्यास्रो मेटाउन बनाएको एपले आज शंकरलाई एकभन्दा बढी कम्पनीको मालिक बनाएको छ ।

उनले अघिल्लो वर्षमात्रै हाम्रो पात्रो रेमिट सञ्चालनमा ल्याएका हुन् । गत मंसिरमा एक वर्ष पूरा गर्दैगर्दा रेमिटले डेढ अर्बको कारोबार गर्‍यो । यसले उनलाई वित्तीय क्षेत्रमा काम गर्न थप हौस्याएको छ ।

अमेरिकाबाट उनले अस्ट्रेलियमा पनि रेमिट विस्तार गरिसकेका छन् । भारतमा पनि दर्ता भइसकेको हाम्रो पात्रो रेमिटले नेपली वित्तीय बजारमा बलियो उपस्थिति देखाउँदै छ ।

रेमिटसँगै शंकरले हाम्रो पात्रोलाई बहुकम्पनीको रुपमा विस्तार गर्दै छन् । उनले हाम्रो पात्रो पे नामक डिजिटल वालेट पनि सञ्चालनमा ल्याएका छन् । ‘कुनैबेला आफ्नै लागि सुरु गरेको एपमा म एक्लै काम गरिरहेको हुन्थेँ, अहिले ८० जनाभन्दा बढीको टिममा काम गरिरहेको हुन्छु,’ उनले सगर्व भने ।

डिजिटल संसारको विकास गर्ने नेपालमा टेलिमेडिसिनदेखि हर एक कुरा डिजिटलाइज बनाउने उद्देश्यसहित शंकर अगाडि बढिरहेका छन् । ‘हाम्रो मात्र होइन, हरेक आइटी बेस्ड कम्पनीहरुको उद्देश्य डिजिटल नेपाल हो, यसमा हामी एक भएर प्रविधि विकासमा लाग्न सके नेपाललाई डिजिटल देश बनाउन सक्छौँ,’ उनी भन्छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ००:००  १० : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping