काठमाडौं । नेपालीहरुले अक्सर नयाँ सामान खरिद गर्ने सिजनका रुपमा चार्डपर्वलाई लिने गरेका छन् । यो हाम्रो परम्पराकै रुपमा स्थापित भएको छ । प्रत्येक वर्ष चार्डपर्वको मुखैमा पछिल्लो समय अटो शो हुदैं आएको छ ।
सवारी बिक्रेताका अनुसार अटो शो देखि तिहारसम्म दुई महिनाको अवधीमा प्रत्येक वर्ष जम्मा बिक्रीको ५० प्रतिशत गाडी बिक्री हुने गरेको छ । बाँकी ५० प्रतिशत भने १० महिनामा बिक्री हुने गरेको छ ।
सवारी बिक्रेताहरुले उक्त समयमा आफ्नो बिक्री बढाउन विभिन्न स्किम ल्याउने गरेका छन् भने उपभोक्ताले समेत नयाँ सवारी खरिद गर्ने उपयुक्त सिजनको रुपमा लिने गरेका छन् ।
यो वर्ष भदौ १३ गतेदेखि नाडा अटो शो हुँदै छ । ६ दिनसम्म चल्ने यो मेलामा आफ्नो सवारीबारे भरपुर जानकारी दिँदै विक्रि बढाउन सवारी विक्रेताहरु लागि परेका हुन्छन् ।
उपभोक्ता पनि अन्य समयमा भन्दा अटो शोमा धेरै सुविधा पाइने हुनाले सवारी खरिदको उपयुक्त अवसर ठान्छन् । नेपाली बजारमा उपलब्ध सबैजसो सवारीसाधनहरु एउटै स्थलमा उपलब्ध हुने गरेको छ ।
दसैं/तिहारजस्ता ठूला चार्डपर्व नजिकिएकाले सवारी बिक्रेताहरुमा यसले अवसर ल्याउने बताउँछन् नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अन्जन श्रेष्ठ ।
‘दसैं/तिहार नजिकिँदै छ, त्यो भन्दा पहिले नाडा अटो शो हुने गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसले सवारी बिक्रेता तथा उपभोक्ता जोड् गर्छ ।’
दसैंमा केही नयाँ किन्ने जुन हाम्रो परम्परा छ, त्यसलाई क्यास गर्न सवारी बिक्रेताहरु लाग्ने गरेका छन् ।
त्यो मेसो अटोमोबाइल बिक्रेताहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मिलाउँदै आएको छ । यसले उपभोक्ताहरुलाई एकै ठाउँमा आफूले किन्न लागेको सवारीको विभिन्न विकल्पहरु उपलब्ध हुने अध्यक्ष श्रेष्ठ बताउँछन् ।
‘अटो सोमा एउटै सेगमेन्टका गाडीहरु विभिन्न कम्पनीका एकै ठाउँमा हुने भएकाले उपभोक्ताले रोजेर आफूलाई उपयुक्त लागेको सवारी किन्न पाउने अवसर समेत प्राप्त हुन्छ,’ उनले भने, ‘त्यसैले अवको समय उपभोक्ता तथा सवारी बिक्रेताका लागि राम्रो सिजन हुनेछ ।’
अटो शोमा सबै प्रकारका सवारीहरु राखिने गरेको छ । प्यासेन्जर कार, मोटरसाइकल, कमर्सियल सवारी तथा हेभी इक्युपमेन्टको समेत प्रदर्शनी तथा बिक्री हुने गरेको छ ।
तर प्यासेन्जर कार तथा मोटरसाइकलमा उपभोक्ता तथा बिक्रेता दुवै केन्द्रीत हुने गरेका छन् ।
अब सवारी बिक्रीको सिजन सुरु भएको बताउँछन् टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङको प्यासेन्जर भेहीकल डिभिजनका सेल्स म्यानेजर अर्जुन कार्की ।
नाडा अटो सो समेत सुरु हुन लागेकाले उपभोक्ता तथा बिक्रेतारुहको ध्यान त्यता तर्फ आकर्षित हुन थालेको उनले बताए । तर टाटाले अटो सो भन्दा पहिले हरेक वर्ष आफ्नो तर्फबाट छुट्टै टाटा कार सेल मेला गर्दै आएको छ ।
‘त्यसपछि हुने अटो सोमा सबैका लागि सिजन ओपन हुने नै भइहाल्यो,’ कार्कीले भने ।
भारत लगायत अन्तर्राष्ट्रिय बजारमा हुने अटो शोहरुमा सवारीको डिस्प्ले तथा कन्सेप्ट कारहरु देखाइने भएपनि नेपालमा हुने अटो शो सवारीको प्रदर्शनीसंगै बिक्रीमा समेत केन्द्रीत हुने गरेको छ ।
अटो सोलाई बिक्रेताले मात्र होइन उपभोक्ताले समेत सवारी खरिद गर्ने उपयुक्त अवसरका रुपमा लिने गरेका छन् । नेपालमा हुने अटो सोमा नयाँ सवारीहरु सार्वजनिक गर्ने, त्यस्ता सवारीको फिचर हाइलाइट गर्ने, सेल्स गर्नेमै केन्द्रीत हुने गरेका छन् ।
नाडा अटो शोमा सबैजसो सवारी बिक्रेता कम्पनीहरुले विभिन्न अफरहरू ल्याउने हुनाले यसलाई सेल्स गर्ने प्लेटफर्मकै रुपमा लिने गरिएको छ ।
नेपाली बजारमा सानारठूला सवारी, हेभी इक्युपमेन्ट तथा मोटरसाइकल गरि दर्जनौं ब्रान्डहरु उपलब्ध रहेका छन् ।
प्यासेन्जर कारमा हुन्डाई, टाटा, निशान, सुजुकी, महिन्द्रा, टोयटा, फोर्ड, फक्सवागेन, स्कोडा, होन्डा, डायत्सु, माज्दा लगायत ब्रान्डका गाडीहरु आयात हुने गरेका छन् । अधिकांश सवारी भारतीय कम्पनीमा निर्मित सवारी आयात हुने गरेको छ ।
नेपालमा भारत बाहेक, जापान, मलेसिया, जर्मनी, इटाली, फ्रान्स लगायत मुलुकमा उत्पादन भएका गाडी आयात हुन्छन् । नेपालमा तेस्रो मुलुकबाट आउने गाडी २० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँभन्दा बढी मुल्यसम्मका रहेका छन् ।
यो पनि पढ्नुहोस्- यी हुन् ‘अटो शो’मा देखिने नयाँ कार
SHARE YOUR THOUGHTS