अरिहन्त मल्टिफाइबर्स सामाजिक सुरक्षा कोषबाट सम्मानित « Eglish Khabarhub

अरिहन्त मल्टिफाइबर्स सामाजिक सुरक्षा कोषबाट सम्मानित



काठमाडौं । सामाजिक सुरक्षा कोषले सुनसरीको अरिहन्त मल्टिफाइबर्सलाई सम्मान गरेको छ । छैटौं सामाजिक सुरक्षा दिवस २०८० का अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा अरिहन्तलाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको अरिहन्त मल्टिफाइबर्सका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसापत्र प्रदान गरेका छन् ।

प्रधानमन्त्री दाहालले अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमूलक उद्योगको तर्फबाट कोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९/८० मा योगदानकर्ता (श्रमिक) हरूको संख्याका आधारमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र प्रदान गरे ।

उद्योगपति गोल्छाले नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने आफ्ना हजुरबा स्वर्गीय रामलाल गोल्छाको ड्रिम प्रोजेक्टका रूपमा रहेको जुट उद्योगलाई आफूले निरन्तरता दिएको बताए ।

उनले जुट उद्योगका कारण आफूले प्रशंसापत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको प्रतिक्रिया व्यक्त गरे ।

सुनसरीको दुहबीमा ३१ वर्षदेखि सञ्चालित अरिहन्त मल्टिफाइबर्समा ४२ सय श्रमिक कार्यरत छन् । यसमध्ये ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रशासकीय अधिकृत गोविन्द बजगाईंले जानकारी दिए ।

उनका अनुसार दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगका सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । उद्योगले बर्सेनि ५ सय करोडभन्दा बढी मूल्यका जुटका सामग्री निर्यात गरिरहेको छ ।

बोरा, सुतली र ह्यासियन कपडाको उत्पादन गरिरहेको उद्योगले गत वर्षदेखि जुटका सोपिङ ब्याग र लेनो कपडाको पनि उत्पादन गरिरहेको छ । लेनो कपडा जालीजस्तो हुने र सडक कालोपत्रे गर्न तथा पहाडमा भूक्षय नियन्त्रणका लागि वृक्षारोपण गर्न काम लाग्ने बजगाईंले जानकारी दिए ।

Publish on: