विमानस्थलको इन्धन डिपो सार्न गठित समितिको म्याद अध्ययन नगरी सकियो, डिपो सार्न निगमको आलटाल « Eglish Khabarhub

विमानस्थलको इन्धन डिपो सार्न गठित समितिको म्याद अध्ययन नगरी सकियो, डिपो सार्न निगमको आलटाल


११ पुस २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई इन्धन डिपो सार्न गठित अध्ययन समितिको म्याद अध्ययन नै नगरी सकिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको गुरुयोजनाको आधारमा हवाई इन्धन डिपो सार्न आर्थिक तथा प्राविधिक रुपमा अध्ययनका लागि नेपाल आयल निगमले इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक इन्जिनियर सुरज साहको संयोजकत्वमा भदौ १७ गते ५ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

समितिलाई दुई महिना (कात्तिक १७ गते) भित्र अध्ययन गरी प्रतिवेदन बुझाउन अवधि तोकिएको थियो । अध्ययन गर्न तोकिएको अवधी सकिए पनि समितिले हालसम्म अध्ययनको प्रक्रिया नै सुरु गरेको छैन ।

निगम स्रोतका अनुसार अध्ययन सुरु नगर्दै म्याद सकेको समितिलाई पुनः म्याद पनि थपिएको छैन । समितिलाई नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी प्राधिकरणले तयार पारेको गुरुयोजनाअनुसार निगमलाई नयाँ डिपो निर्माणका लागि प्रस्तावित निर्माण स्थल यकिन गर्ने जिम्मेवारी दिइएको थियो ।

यस्तै जग्गाको स्थान तथा क्षेत्रफल उपयुक्तताको पहिचान गर्ने र गुरुयोजनाको आधारमा प्रस्तावित डिपो ड्रइङ डिजाइनको आधारमा भौतिक संरचनाहरुको बारेमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन कार्यदेश दिइएको थियो ।

तोकिएको समय सकिँदा पनि हालसम्म अध्ययन नै सुरु नगरेको यो समितिले स्वीकारेको छ । ‘समितिलाई अध्ययन गर्न २ महिनाको अवधि तोकिएको थियो तर केही प्राविधिक समस्याका कारण अहिलेसम्म अध्ययन गर्न सुरु गरेका छैनौं,’ निगमका एक उच्च अधिकारीले भने, ‘अब केही दिनपछि अध्ययन सुरु गर्छौं ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गत असोजमै तत्कालै हाल रहेको हवाई इन्धनको डिपो सार्न पटक पटक निगमलाई पत्राचार गरे पनि निगमले भने विभिन्न बहानामा १ वर्षदेखि डिपो सार्न चासो देखाएको छैन ।

निगमका ति अधिकारीले निगमको वार्षिक कार्यक्रममा उक्त डिपो सार्ने योजना परेकाले आवश्यक प्रक्रिया पूरा गरी डिपो स्थानान्तरण गरिने जानकारी दिए । आयोजनाले हवाई इन्धन डिपो स्थानान्तरण नहुँदा विस्तारको योजना प्रभावित भएको भन्दै असोजमै ५ महिनाभित्रमा डिपो सार्न टेन्डर आह्वान गरिसक्नुपर्ने बताएको थियो ।

निगम स्रोतका अनुसार निगमले गठन गरेको समितिका एक सदस्य इन्जिनियर परियोजना तथा सूचना प्रविधि विभागका उपनिर्देशक इन्जिनियर भरत रेग्मी अध्ययन बिदामा ३ वर्षका लागि क्यानाडा गएका कारण समितिको अध्ययन कार्य प्रभावित भएको हो ।

विमानस्थल फराकिलो पार्ने क्रममा ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न फराकिलो पार्ने क्षेत्रको बीचमा परेको हवाई इन्धनको रिफ्युलर केन्द्र

‘अब त झन् निगममा कार्यकारी निर्देशक छैनन्,’ निगम स्रोतले भन्यो, ‘सबै प्रक्रिया पूरा गरी रिक्त स्थानमा नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न समय लाग्छ । नयाँ कार्यकारी निर्देशक आएपछि फेरि यही समितिलाई अध्ययन गर्ने जिम्मेवारी दिइने हो वा होइन, त्यो आगामी दिनले बताउला ।’

निगमले विमानस्थलबाट हवाई इन्धनको डिपो सार्न आनाकानी गर्दै आएको छ । डिपो सार्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले पटक-पटक पत्राचार गरे पनि निगमले चासो देखाएको छैन ।

विमानस्थलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दिपेन्द्र श्रेष्ठले हाल रहेको हवाई इन्धनको डिपो सार्न निगमलाई पटक-पटक पत्राचार गरेको जानकारी दिए । आयोजना निर्देशनालयले असार ३ गते पनि निगमलाई पत्राचार गरेको थियो ।

यसअघि २०७० साउन ११ गते विस्तृत जानकारीसहित उक्त हवाई इन्धन भएको डिपो क्षेत्र खाली गर्न आयोजना निर्देशनालयले निगमलाई पत्राचार गरेको थियो । ‘आयोजनाले एक वर्षदेखि निगमलाई डिपो सार्न पत्राचार गरेको हो,’ श्रेष्ठले भने, ‘हामी आफ्नो तर्फबाट द्रुतगतिमा काम गरिरहेका छौं तर निगमबाट हालसम्म काम अघि बढेको छैन । यसले गर्दा हामीले निर्धारित समयमा सक्ने भनेको काम अवरुद्ध भएको छ ।’

डिपो स्थानान्तरण गरिएन भने हाल भएको स्थानमै डिपोको ट्यांकी मर्मतसम्भारका लागि आवश्यक क्षेत्रफल पनि उपलब्ध गराउन नसकिने श्रेष्ठले बताए । उनका अनुसार हाल डिपो रहेको स्थान नजिकैसम्म ट्याक्सी वे निर्माण गर्न जग्गा फराकिलो र सम्याउने काम सम्पन्न भएको छ । तर, नजिकै डिपो भएकाले उक्त क्षेत्रबाट अगाडि काम गर्न चुनौती थपिएको छ ।

हवाई इन्धन उच्च प्रज्वलनशील पदार्थ भएकाले भवितव्य जोखिमलाई ध्यानमा राख्दै डिपो नजिकैको क्षेत्रबाट काम अघि बढ्न नसकेको हो । विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवननजिकै अहिलेको हवाई इन्धन डिपो सार्न मास्टर प्लानअनुसार जग्गा उपलब्ध गराइएको उनले बताए ।

उक्त स्थानमा करिब ५० रोपनी जग्गा पनि छुट्टयाइएको छ । त्यहाँ खाल्डो भएकाले माटो पुरेर नयाँ डिपो निर्माण गर्न सकिने श्रेष्ठले बताए । मास्टर प्लानले फ्युल हाइड्रेन्ट सिस्टमसहित फ्युल डिपो निर्माण गर्नुपर्ने योजना तयार पारेको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा हुने भएकाले उक्त स्थानमा फ्युल डिपो सार्न आयोजनाले निगमलाई पत्राचार गरेको हो । मास्टर प्लानअनुसार विमानस्थलको उत्तर-पश्चिम क्षेत्रमा विमानस्थलको अन्तर्राष्ट्रिय एयरक्राफ्ट पार्किङ निर्माण कार्य भइरहेको छ ।

उक्त क्षेत्रमा हवाई इन्धनको माग र खपत अत्यधिक हुने भएकाले सोही स्थानमा निगमको डिपो निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । डिपोको विषयलाई सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने स्रोतले जनाएको छ । त्रिभुवन विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय विमानको भयानक दुर्घटना भएको थियो । टर्किस एयरलाइन्स र विमान बंगलादेशको जहाज दुर्घटना भएको हो ।

टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठूलो क्षति हुन सक्थ्यो । ‘भवितव्यबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न डिपो सार्न भनिएको हो,’ स्रोतले भन्यो ।

निगमका अनुसार विमानस्थलमा ७६ लाख ४० हजार लिटर क्षमताको हवाई इन्धनको डिपो छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरको ३, ७ सय ६० किलोलिटरको ३ र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन भण्डारण गर्ने भाँडो छ ।

किन हवाई इन्धनको डिपो सार्न भनियो ?

विमानस्थलको गुरुयोजना (मास्टर प्लान) अनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागिएको छ । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल धावन मार्गनजिकै समानान्तर ट्याक्सी वे (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र गुरुयोजनाअनुसार मूल धावन मार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने गुरुयोजनामा योजना समावेश गरिएको छ ।

त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप पनि निर्माण गर्दा डिपोको सम्पूर्ण संरचना हटाउनुपर्ने हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थल फराकिलो पार्ने क्रममा ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न फराकिलो पारेको क्षेत्र । बीचमा हवाई इन्धनको डिपो र हवाई इन्धन रिफ्युलिङ सेन्टर भएर काम अवरुद्ध भएको छ ।

ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपका लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो । अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगट्ने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तरण नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने औंल्याइएको छ ।

तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा र उडान सुरक्षाका साथै वरपरका घना बस्तीसमेत ठूलो जोखिममा पर्न सक्ने आयोजनाले जनाएको छ । ‘समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न अहिले भएको निगमको डिपोको सम्पूर्ण क्षेत्रफल खाली गराउनुपर्ने बाध्यता छ,’ आयोजना निर्देशक श्रेष्ठले भने, ‘त्यो खाली भएको अवस्थामा मात्रै ती दुवैको भौतिक पूर्वाधार निर्माण कार्य अघि बढाउन सकिन्छ ।’

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार ००:००  ४ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping