![](https://internal.appharu.com/wp-content/uploads/2024/03/pradip-gyayoli-768x403.png)
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् ।
नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनै पनि खालको वाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समीकरण बनेको बताए ।
न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रुपमा रहेको समेत स्वीकार गरे ।
वाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने दृष्टिकोण, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने उनको भनाइ छ ।
‘यो स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो । अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ’ उनले भने ।
उपमहासचिव ज्ञवालीले कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखि काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार भएको बताए ।
SHARE YOUR THOUGHTS