![](https://internal.appharu.com/wp-content/uploads/2024/04/nepal-768x512.jpg)
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार आफ्नो तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको हो ।
ओमानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए ।
रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिए ।
हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन् ।
त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । आजको खेलमा हङ्कङलाई हराउँदै नेपाल एक समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चरणमा छ ।
SHARE YOUR THOUGHTS