![](https://internal.appharu.com/wp-content/uploads/2024/04/samiti.png)
काठमाडौं । निर्धारित समयमा बैठक सुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
मंगलबार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगे पनि सांसदहरुको लापरबाहीले बैठक बस्ने सकेन ।
सांसदहरु तोकिएको समय भन्दा १५ मिनेट पछिसम्म पनि बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद उपस्थित हुनुपर्नेमा ८ जनामात्रै भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिएका थिए ।
मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए । समितिका सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो ।
समितिको आजको बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरुको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरु) का बारेमा छलफल हुने कार्यक्रम रहेको थियो ।
SHARE YOUR THOUGHTS