![](https://internal.appharu.com/wp-content/uploads/2024/05/unique-baraat.jpg)
एजेन्सी । पहिले पहिले बेहुली लिन जाँदा रथ वा घोडा चढ्थे । बेहुली लिएर घोडामै फर्कन्थे । समयक्रम बदलिँदै जाँदा बेहुला गाडी वा मोटरसाइकल चढेर जान थाले ।
अहिले विद्युतीय सवारीको युग हो । विद्युतीय गाडिहरु पनि पेट्रोलियमबाट चल्नेभन्दा कम ताकतका छैनन् । तर, विद्युतीय मोटरसाइकल वा स्कुटर अझै पनि रोजाइमा पदैनन् । कारण हो, विद्युतीय बाइक/स्कुटरले पेट्रोलबाट चल्ने झैं लोड तान्दैन वा पेट्रोल बाइक झैं पावर जेनेरेट गर्दैन भन्ने भ्रम ।
इलेक्ट्रिक स्कुटरमा हासिल भएको प्रगतिलाई झल्काउने गरी बैंगलोरका एक बेहुलाले यस्तो काम गरेका छन्, अहिले निकै भाइरल भइरहेको छ । ती बेहुला शेरवानी पहिरिएका छन्, कालो चस्मा लगाएका छन् र टक्क एथर इलेक्ट्रिक स्कुटरमा बसेका छन् ।
परिवारका सदस्य तब छक् परे जब उनले घोडा वा रथको सट्टा स्कुटर सिंगार्न भने । भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो ‘बैंगलोर मुमेन्ट’ भाइरल छ । पारम्पारिक रुपमा बेहुला घोडा चढेर जानुपर्नेमा इलेक्ट्रिक स्कुटर चढेर बेहुली लिन गएको घटनाले इलेक्ट्रिक स्कुटर पनि शक्तिशाली र लोड तान्न सक्ने खालको बनिसकेको छ भन्ने सन्देश दिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।
सामाजिक सञ्जालमा ती बेहुला एथर स्कुटर चढेको देखिन्छन् भने उनका परिवारजन तथा साथीभाइ उनी वरिपरि नाचिरहेका छन् । सेतो रंगको एथरमा पहेंलो फूलको माला लगाइएको छ, रंगीचंगी बनाइएको छ ।
भारतमा दुईपांग्रे सवारी सेग्मेन्टमा इलेक्ट्रिक स्कुटर रुचाइन थालेको छ । जसको प्रमाण बैंगलोरका ती बेहुलाले आफ्नो ‘अनौठो बारात’ घोडा छाडेर जानुको सट्टा इलेक्ट्रिक स्कुटर चढेर जानुले दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
ती बेहुलाले चढेको स्कुटर एथर कम्पनीको रिज्ता हो । टप स्पिड ८० किमि प्रतिघन्टा रहेको स्कुटरले अधिकतम २२ एनएम टर्क पैदा गर्छ । एक फुल चार्जमा स्कुटर १ सय २० किमि गुड्छ ।
नेपालमा भने एथरको ४५०एक्स उपलब्ध छ । जसको अधिकतम गति ९० किमि प्रतिघन्टा छ भने टर्क २६ एनएम छ । स्कुटरले ०–५० किमि गति ३.३ सेकेन्डमा भेट्टाउन सक्छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/GNdWxE6W4AARCGE-512x768.jpeg)
तस्बिर स्रोतः सामाजिक सञ्जाल
SHARE YOUR THOUGHTS