पक्राउ परेपछि कैलाश सिरोहियाले भने- २ वटा पासपोर्ट बोक्ने रवि लामिछाने पक्राउ पर्नेमा विश्वस्त छु

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले दुइवटा पासपोर्टको मुद्दा खेपिरहेका गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न आग्रह गरेका छन्।

‘यसैलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुनेमा म विश्वस्त छु,’ सिरोहियाले भने, ‘किनभने गृहमन्त्री रवि लामिछानेले दुईवटा पासपोर्ट प्रयोग गर्नुभएको छ, कुनै महान्यायाधिवक्तालाई यो अधिकार छैन।’

मंगलबार साँझ साढे ६ बजे काठमाडौंको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नागरिकता प्रकरणमा प्रहरीले पक्राउ गरेको हो। सिरोहियामाथि नागरिकताबारे धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेपछि कान्तिपुर कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सिरोहियाले आफूलाई नागरिकता काण्डमा भन्दा नभई सहकारी ठगीबारे गृहमन्त्री रवि लामिछानेबारे समाचार लेखिएकोमा पक्राउ गरिएको बताए।

‘म अन्‍तिमसम्म लडाइँ लड्छु। तर यो देशमा कानून छ। दुईवटा पासपोर्ट बोक्ने ? उहाँविरूद्ध सहकारी बचत ठगीमा यत्रो समाचार आइरहेको छ। मलाई नागरिकता काण्डमा गिरफ्तार गरेको होइन, सहकारी र उहाँविरूद्ध आएका न्युजका कारण हो।’ सिरोहियाले भने ।