‘लोन लि खा, नतिर्’ भन्नेहरुको असर देखियो, मौद्रिक नीति जादुको छडी होइनः गभर्नर « Eglish Khabarhub

‘लोन लि खा, नतिर्’ भन्नेहरुको असर देखियो, मौद्रिक नीति जादुको छडी होइनः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिएर नतिर्ने प्रवृत्तिले बैंकिङ क्षेत्रमा समस्या आएको बताएका छन् । मौद्रिक नीतिमा सुझाव लिन बिहीबार सरोकारवालाहरुसँगको छलफलमा गभर्नर अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लक्षित गदै ‘लोन लि खा नतिर्’ भन्ने प्रवृत्ति बैंकिङ क्षेत्रमा असर देखिनुको एक कारण रहेको बताएका हुन् ।

‘बैंकिङ क्षेत्रमा लोन लिने पिडित वा लोन लि, नतिर् भन्ने खाले पिडितको असर पनि सँगसँगै छ,’ अधिकारीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समुदाय पनि देखिए । त्यसले पनि हिजो बैंक हिचकिचाएको देख्छौं ।’

हास्यकलाकार मनोज गजुरेलले व्यवसायी प्रसाईंको चिनियाँ नाम ‘लोन लि खा’ रहेको भन्दै व्यंग्य गरेपछि पछिल्लो समय कर्जा लिएर नतिर्ने प्रवृत्तिलाई यही नाम दिइने गरेको छ । गभर्नर अधिकारीले पनि गजुरेलकै शब्द प्रयोग गर्दै बैंकविरुद्धको अराजक प्रवृत्ति अर्थतन्त्रमा समस्या सिर्जना गराउने कारक भएको बताएका हुन् ।

अधिकारीका अनुसार बैंकहरुलाई अहिले एक किसिमको दबाब पनि रहेको छ ।

‘नाफा घट्दो छ । कुल पुँजीका आधारमा प्रतिफल ८ प्रतिशतको हाराहारीमा नाफा छ । यो निकै कम हो,’ गभर्नर अधिकारीले भने, ‘व्यवसायिक समुदायमा आफ्नै दबाब छ । रि पेमेन्टको बेला छ । आर्थिक शिथिलता छ । उद्योगको क्षमता उपयोग कमजोर छ । फलस्वरुप ऋणको उपयोग कम हुने नै भयो ।’ ठूला उद्योगी र एकल ऋणीको कर्जा पनि कम रहेको भन्दै उनले बैंकहरुको क्षमता पनि घटेको देखिने तथा सहकारीसँग गाँसिने जिकिर गरे ।

मौद्रिक नीतिबारे कुरा गदै अधिकारीले व्यावसायिक क्षेत्रले मौद्रिक नीतिमा सुझाव दिँदा मौद्रिक नीतिका उपकरण भन्दा पनि बढी म्याक्रोप्रुडेन्सियल कुरा बढी गर्ने बताए । व्यवसायीहरु लोन टु भ्यालु रेसियो, पुँजीमा जोखिम भार घटबढका माग बढी गर्ने उनले बताए । ‘मौद्रिक नीति जारी गर्दा नियामकीय हेरफेर पनि हुने गरेकाले यी माग आउनु स्वभाविक हो,’ उनले भने ।

यद्यपि मौद्रिक नीति सबै कुरालाई सम्बोधन गर्ने ‘जादुको छडी’ नभएको उनको भनाइ छ । ‘जादुको छडी झैं मानेर मौद्रिक नीतिले सबै समस्या निको पार्छ भन्न पनि मिलेन,’ अधिकारीले भने, ‘मौद्रिक नीतिले गर्नसक्ने के हो हदैसम्मको प्रयास राष्ट्र बैंकले गर्छ । हाम्रो प्रयासबारे म यतिकुरा भन्छु ।’

राष्ट्र बैंकले गनुपर्ने कुरा गरिरहेको भन्दै उनले केही समस्या पुराना कारणले सिर्जना भएको पनि दाबी गरे । जस्तो कि बैंकहरुले आफ्नो क्षमताभन्दा बढी कर्जा किन दिएको ? ऋणीको क्षमता मूल्यांकन किन प्रभावकारी नभएको ? जस्तो प्रश्न उनले गरे ।

यद्यपि मौद्रिक नीतिले गर्नैपर्ने केही काम राष्ट्र बैंकले गर्ने भन्दै उनले अर्थतन्त्र चलायमान बनाउने जस्तो कुरामा राष्ट्र बैंक सचेत रहेको बताए ।

बैंक, व्यवसायी तथा सरकारी पक्षले हिजोको दिनमा गल्ती भएको भए आज महसुस गर्दै सच्याउनुको विकल्प नभएको पनि उनले बताए । ‘रिफर्म गदै लैजानुपर्छ । कुनै पनि बेला रिफर्म गर्न छाडियो भने भोलि महँगो पर्न सक्छ,’ उनले भने, ‘हामी निरन्तर सुधारको क्रममा छौं ।’

केही व्यवसायीले चालुपुँजी कर्जाको बिषय उठाएकामा आपत्ति जनाउँदै गभर्नर अधिकारीले भने, ‘कतिपय साथीहरुले बुझ्दै गएको देखेको छु । राम्रो कुरा हो । रिफर्म भएन भने भोलि ठूलो समस्या पर्न सक्छ ।’

Publish on: