काठमाडौं । आइतबार विहान ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आदेश दिए लगत्तै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ब्रेक थ्रू भयो ।
आयोजनाको भौतिक निर्माण समेत ९२ प्रतिशत माथि पुग्यो तर आगामी असारमा पहिलो युनिट सञ्चालन गर्ने भनेर गरिएको प्रचार भने सत्यको नजिक नरहेको पाइएको छ ।
आयोजना स्वयम्ले नै आगामी मंसिर अर्थात २०७५साल मंसिरको अन्त्यमा मात्रै आयोजना सकिने नयाँ समयसीमा तय गरेको छ । त्यसका पछाडिका कारणहरु फरक फरक छन् ।
कुल ८.५ किलोमिटर लामो सुरुङ निर्माणमा प्राप्त भएको सफलता आयोजनाका लागि ठूलो सफलता हो । तर भर्टिकल सार्प टनेल( ठाडो सूूरुङ )मा राख्नुपर्ने स्टिल लाइनिङको काम सूरु हुन सकेको छैन ।
चिनियाँ ठेकेदार सिनो हाइड्रोले आफ्नो काम इमान्दारिपूर्वक सम्पन्न गर्ने चरणमा पु¥याएको भएपनि भारतीय ठेकेदारले भने सोचेअनुसार काम गर्न नसकेको र उसलाई सचेत गराइएको छ ।
आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको भर्टिकल सार्प टनेल मात्रै करिब ६५० मिटरको हाराहारीमा रहेको छ । नेपालमा हाल निर्माणाधिन जलविद्युत् आयोजना मध्ये दुई वटा भर्टिकल सार्प टनेल राखिएको आयोजना नै माथिल्लो तामाकोशी आयोजना हो । त्यसमा ३११ मिटर र ३७३ मिटर लामा दुई वटा ठाडो सुरुङ छन् ।
तामाकोशी खोलाको ६६ क्युमेक पानीलाई करिब ८१० मिटर लामो हेड मार्फत खसालेर विद्युत् उत्पादन गरिनेछ । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । तर ठेकेदारले सोचेअनुसार काम नगरेको भन्दै गुनासो पनि बढ्न थालेको छ । हालसम्म ठाडो सुरुङमा राखिने स्टिल लाइनिङको काम सुरु हुन सकेको छैन ।
ऊर्जा सचिव उपाध्याय, आयोजनाका प्रमुख तथा ठेकेदार सबैलाई राखेर प्राधिकरणका कार्यकारी निर्देशक तथा आयोजनाका अध्यक्ष समेत रहेका घिसिङले कडा शब्दमा निर्देशन दिए, आगामी असार भित्र किन सकिदैन आयोजना, नसकिनुको कारण के हो ? किन यसरी भइरहेको छ लापवराही ? अन्ततः प्राविधिक तथा अन्य कर्मचारीसँग उचित सल्लाह गरेपछि आयोजनाको नयाँ मिति तय गरिएको छ, २०७५ मंसिर ।
आयोजनालाई शिघ्र सम्पन्न गर्न कुनै पनि कमजोरी नराख्न र सकेसम्म चाँडै सम्पन्न गराउन समेत उनले निर्देशन दिए ।
SHARE YOUR THOUGHTS