जनजाती बस्तीमा एक्लो ‘लुइँटेल दाइ’: परिवारले अस्वीकार गरेपछिको संघर्ष « Eglish Khabarhub

जनजाती बस्तीमा एक्लो ‘लुइँटेल दाइ’: परिवारले अस्वीकार गरेपछिको संघर्ष


३ पुस २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

रमिते खोला (मोरङ)। ब्राह्मण परिवारकी छोरीले कुनै लिम्बू केटासँग बिहे गरेको अवस्थामा केटीको परिवार र आफन्तले सामाजिक रुपमा वहिस्कार गर्ने कुसंस्कार नेपाली समाजमा विद्यमान छ ।

तर ब्राह्मणको छोराले लिम्बू केटी बिहे गरे भने के हुन्छ ? यस्तो अवस्थामा सामान्यतया बुहारीलाई भित्र्याइन्छ । यस्तो अवस्थामा नेपालको कानुनले पूर्ण रुपमा समानता दिए पनि सामाजिक रुपमा भने अनेक अपमान, विभेद र वहिष्कारका घटनाहरु देखिँदैआएको छ ।

सामान्यतया अन्तर्जातीय बिहेपछि वहिष्कारमा पर्ने अधिकांश घटनामा महिलाहरु नै पीडित बन्दैआएका छन् । आजभन्दा ठीक ३० वर्षपहिले पूर्वी नेपालको मोरङस्थित मिक्लाजुङ गाउँपालिका-४ मा परम्परागत रुपमा हुने गरेका अन्तरजातीय बिहे भन्दा फरक प्रकृतिको बिहे भएको थियो ।

जहाँ ब्राह्मण परिवारका एक युवा भोला लुइँटेलले लिलादेवी चेम्जवङसँग बिहे गरेका थिए । यस्तो अन्तरजातीय बिहे लिलादेवीको परिवारका लागि त स्विकार्य नै थियो । लुइँटेलको परिवारले भने बुहारीलाई स्विकार्न सकेन । न त छोरा भोला नै आफ्नो घर जान सके ।

भोलाको पुर्ख्यौली घर मिक्लाजुङको वडा नं ३ मा छ । ब्राह्मण बस्तीको रुपमा चिनिएको त्यहाँ भोलाका बाआमा, दाजुभाईहरुसहित सबैजसो आफन्तहरु बस्दैआएका छन् । जवकि लिलादेवी चेम्जोङ मिक्लाजुङ वडा नं ५ की स्थायी बासिन्दा हुन् ।

लिम्बू समुदायकी युवतीसँग प्रेमविवाह गरेपछि भोलाले आफ्नै बाआमा भएकै ठाउँमा श्रीमतिलाई भित्र्याउन धेरै संघर्ष र कोसिस गरे । तर उनको परिवारले बुहार भित्र्याउनुको सट्टा भोलालाई नै वहिष्‍कार गरिदियो । भोलाका लागि भने अन्तर्जातीय प्रेमको नाममा परिवारले दिएको यस्तो ‘सजाय’स्विकार्य थियो ।

अनि बाटो मडियो

लिम्बू युवतीसँगको त्यही अन्तर्जातीय बिहे भोलाको जीवनमा नयाँ मोड बनिदियो । र सुरु भयो संघर्षको नयाँ अध्याय । परिवारले घरनिकाला गरेपछि भोला श्रीमति लिलादेवीसँग ५ किलोमिटर टाँढाको आइतबारेमा पवित्रा राइको घरमा भाडामा बस्न थाले ।

सिँगो गाउँमा ब्राह्मण-क्षेत्रीहरुको अरु कुनै परिवार छैन । लिम्बू, राई, तामाङ, मगर, श्रेष्ठ, गुरुङ र दलित समुदायको वाहुल्य रहेको सिँगो वडा नं १ भरी भोला लुइँटेल ब्राम्हण-क्षेत्री समुदायको एक्लो प्रतिनिधि हुन् ।

७ सय १३ घरपरिवार रहेको यो गाउँमा ५७९ परिवार राई, तामाङका ८०, श्रेष्ठका १२, विश्वकर्माका २४, लिम्बू ६, मगरका ४ र गुरुङ समुदायका ७ घरपरिवार छन् । मिक्लाजुङ १ का वडाध्यक्ष पर्वत राईका अुसार ४ हजार जनसंख्या रहेको यो वडाभरी क्षेत्री-ब्राह्मण समुदायको प्रतिनिधिका रुपमा लुइँटेलको एक्लो घर छ । जहाँ ६ जना सदस्य छन् ।

भोलाले हाल रमिते खोलाको आइतबारे पहाडमा लिलादेवीसँगै मिलेर किराना पसल, होटल तथा लज चलाउँदैआएका छन् । सबैजसो छिमेकी र गाउँलेहरु उनलाई ‘लुइँटेल दाई’भनेर बोलाउँछन् । आइतबारे पहाडमै खनीखोस्रिएर भोला दम्पतीले पक्की घर बनाएका छन् । भोला आफैं राई, लिम्बू र तामाङ भासा फरर बोल्न सक्छन् ।

‘म ब्राह्मणक छोरो । लिम्बूकी छोरीसँग अन्तरजातीय विवाह गरेपछि घरपरिवार र समाजले निको मानेन,’ लुइँटेल भन्छन्, ‘समाजले पनि अति अप्ठेरो मानेपछि जन्मघर छाडेर उकालो चढेर यहाँ आएर बस्न थालेँ । सुरुमा घरपरिवार र आफन्त सबैले हामी दम्पतीलाई नै हेला गरे । जब आइतबारेमा घर बनाएर स्थायी बसोबास गरियो तव परिवार र आफन्तहरु आउजाउ गर्न थालेका छन् ।’

१० कक्षासम्म पढेका भोला र ९ कक्षा पढेकी लिलाका ३ छोरी र एक छोरा छन् । छोरीहरु सम्झना, लक्ष्मी र निशा स्नातक तहमा अध्ययन गर्दैछन् भने छोरा जेनिश कक्षा ८ मा अध्ययनरत छन् ।

भोलाका अनुसार चाडवाड र पूजाआजामा भोलाका बाआमाहरु पनि आउन थालेका छन् । तर अझै पनि बुहारीले छोएको खाँदैनन् । भोला भन्छन्, ‘दाजुभाई र आफन्तहरु पनि आउन थालेका त छन् । तर मेरो छोराछोरीले छोएको पनि खाँदैनन् ।’

पुर्ख्यौली घर छाडेर आइतबारेमा बसेरै उनले लामो संघर्ष गरे । जहाँ राई, लिम्बू लगायत सबै जनजाती समुदायले आफ्नै रगतको नाता जस्तै व्यवहार गरेको भोला सम्झछन् ।

‘मलाई सुरुका संघर्षका दिनमा घरकै दाजुभाई जस्तै मानेर रगतको साइनो झैं माया र सहयोग गरे उनीहरुले । यहाँका राईलिम्बूहरु आफ्नो घर र सहोदर दाजुभाई जस्तो लाग्छ । मलाई गाह्रो-साह्रो पर्दा पनि यहाँको समाजले मलाई काँध नै हाल्छ । म त जनजाती हुँ कि बाहुन छुट्याउनै गाह्रो छ,’ भोलाले हाँस्दै सुनाए ।

पैत्रीक सम्पत्ति भने उनले केही लिएका छैनन् । दाजुभाई र बाआमाहरु भने अहिले पनि पुर्ख्यौली थलो भएको ठाउँ टाँडी चौतारामा सगोलमै छन् । अन्तरजातीय विवाह गरेकै कारण वहिष्कृत भएका लुइँटेललाई आइतबारेमा स्थायी बसोबास गराउन यहाँको क्षेत्री-ब्राम्हण शून्य जनजाती बाहुल्य समाजको ठूलो योगदान रहेको वडा अध्यक्ष राईको भनाइ छ ।

कहिलेकाहीँ त ठट्टा गरेर लुइँटेललाई गाउँलेहरु ‘मन्दिरको प्रसाद’ भनिदिन्छन् । ३० वर्ष पहिला लुइँटेल आइतबारे आएर पवित्र राईको घरमा डेरा गरेर पसल सुरु गर्दा यहाँ कुनै पसल र सडक थिएन ।

उनले डेरामै पसल सुरु गरेपछि आइतबारेमा पसल खुल्ने र बजार विस्तार हुने क्रम भयो । यसअघि यहाँका बासिन्दा ८–१० किलोमिटर ओरालो मुधुमल्ला र उर्लाबारी बजार पुगेर लत्ताकपडा र खाद्यन्न किन्नुपर्ने बाध्यता थियो ।

बाटोघाटो नहुँदा लुइँटेलले तराइबाट घोडामा सामान ल्याएर पनि व्यापार चलाएका थिए । र स्थानीय उत्पादनहरु पनि घोडालाई बोकाएर तराइमा लगेर विक्री गर्थे । उनको यो क्रमसँगै आइतबारेमा पसल खुल्ने क्रम सुरु भयो । आइतबारेको अहिलेको बजार बनाउन लुइँटेलको पनि योगदान रहेको अध्यक्ष राई बताउँछन् ।

अहिले यहाँ ६० भन्दा धेरै पसल, होटल र लज छन् । मोरङको विकट क्षेत्र मानिने यो क्षेत्रमा अहिले सडक सञ्जाल, बिजुली र सञ्चारको सुविधा छ । जुनसुकै पेसा र व्यवसाय गर्न रुचाउने लुइँटेल यहाँका सफल र परिश्रमी व्यवसायीका रुपमा चिनिन्छन् ।

मोरङको अति विकट क्षेत्र मानिने उत्तर पूर्वको यो पहाडी क्षेत्र रमिते खोला पहिला सिंगो गाविस थियो । साविकको रमिते खोला गाविस अहिले मिक्लाजुङ गाउँपालिकाको सिंगो वडा नं १ पर्छ ।

२ हजार ४१० मिटर उचाइमा रहेको यो पहाडी क्षेत्र धनकुटा, इलाम र पाँचथरसम्म सीमाना जोडिएको छ । यो भूगोलमा २४१० मिटर अग्लो रमिते डाँडोसहित २८ वटा पहाडी डाँडा छन् । ती सबै डाँडाबाट चम्किलो सूर्योदय र सूर्यास्त देखिन्छ । यहाँबाट मोरङ र झापाका बस्तीहरु पनि देखिन्छन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार ००:००  ७ : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping