विराटनगर किङ्सका लगानीकर्ताको संकल्प: पूर्वाधारमा लगानी गर्छौं, अर्कोपटक एनपीएल जित्छौं « Eglish Khabarhub

विराटनगर किङ्सका लगानीकर्ताको संकल्प: पूर्वाधारमा लगानी गर्छौं, अर्कोपटक एनपीएल जित्छौं


८ पुस २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । सुनसरी मोरङ औद्योगिक क्षेत्रका चार युवा उद्योगीले नेपाल क्रिकेट संघ (क्यान) को मापदण्डमा रही फ्रेन्चाइज क्रिकेटलाई निरन्तरता दिने बताएका छन् । उनीहरूले क्रिकेटको विकासकै लागि क्यानसँग अनुबन्धित भएको जनाए ।

शनिबार सम्पन्न पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उनीहरूको विराटनगर किङ्स फ्रेन्चाइज क्रिकेट टिमले सहभागिता जनाइसकेको छ । आठ टिम सहभागी उक्त प्रतियोगितामा विराटनगर किङ्सले सात खेल खेलेको थियो । पाँच हार र दुई जित निकाल्दै प्रतियोगिताको लिग चरणबाट बाहिरिएको थियो । एनपीएलको उपाधी भने सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले जितेको छ ।

विराटनगरका चार औद्योगिक समूहले निर्माण गरेको म्याड स्पोर्ट्स (एमएडी) मा एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप र देवनगरा ग्रुपको सामूहिक लगानी छ । उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) को प्रोटोकलअनुसार क्रिकेटको लगानीलाई निरन्तरता दिने बताएका हुन् ।

यो समूहमा नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी पारस लुनिया, गल्फका एम्याचोर खेलाडी सुयस प्याकुरेल, अनुज पोद्दार, र वेंकटेश मुन्दडा छन् । लुनिया अरिहन्त ग्रुपका, प्याकुरेल एमएम ग्रुपका, पोद्दार म्याजिक ग्रुपका र मुन्दडा देवनगरा ग्रुपका मालिक हुन् ।

यसअघि लुनिया, अनुपम राठी र नारायण मुन्दडाको लगानीमा पोखरा प्रिमियर लिग तथा लुनिया र प्रफुल्ल वैद्यको लगानीमा धनगढी लिग क्रिकेट प्रतियोगितामा विराटनगरले सहभागिता जनाएको थियो ।

शनिवार सम्पन्न प्रथम नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताले नेपालको क्रिकेट विकास, खेल पर्यटन र खेल उद्योगमा लगानी गर्न थप उत्साहित बनाएको छ । समूहका लगानीकर्ता मध्येका पारस लुनिया र सुयस प्याकुरेलले क्लिकमान्डुसँग एक स्वरमा भने, ‘हाम्रो समूहले मुलुकको क्रिकेट विकासका लागि फ्रेन्चाइज क्रिकेट अनि विराटनगर किङ्सलाई निरन्तरता दिनेछ ।’

क्रिकेटको लक्ष्य र आर्थिक योजना

व्यक्तिगत, पारिवारिक र समूहको मुनाफाका लागि उद्योग र व्यवसायमा अर्बौं लगानी गर्दै आएका यी चार उद्योगी क्रिकेटमा आफ्नो ब्रान्ड स्थापित गर्दै लिग क्रिकेटलाई लोकप्रिय र आर्थिक रूपमा समृद्ध बनाएर लगानी असुल गर्ने लक्ष्यमा छन् ।

‘पहिलो लक्ष्य निस्वार्थ रूपमा क्रिकेटको विकास नै हो । त्यससँगै ब्रान्ड स्थापित गरेर क्रिकेटलाई आर्थिक रूपमा सक्षम बनाउनु हो,’ लुनिया र प्याकुरेलले भने । भविष्यको आकलन गर्दै उनले भने, ‘त्यसपछि ब्रान्ड भ्यालुएसन र क्रिकेटमा बढ्ने स्पोन्सर नै लगानी असुलीको आधार बन्ने अपेक्षा गरिएको छ ।’

हिलो एनपीएल क्रिकेट प्रतियोगितामा विराटनगर किङ्सका लागि एभरेष्ट बैंक, पीएलओ, टुपीएम, म्याजिक, र ब्रिज कन्सल्टेन्सी लगायतका कम्पनीहरूले स्पोन्सर गरेका थिए ।

खेलाडी र टिमको प्रदर्शन

विराटनगर किङ्सले सन्दीप लामिछानेको कप्तानीमा लोकश बम, दीपक बोहोरा, वासिर अहमद, नरेन भट्ट, प्रतिश जिसी, मृणाल गुरुङ, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगरसहित न्यूजिल्याण्डका पूर्व विस्फोटक ओपनर मार्टिन गुप्टिल, स्कटल्याण्डका क्रिस सोल, अफगानिस्तानका स्मात आलम, क्यानडाका निकोलस किर्तन, र ओमानका आकिव इलियासलाई टिममा समावेश गरेको थियो ।

टिमले जनकपुरसँग ८ विकेटले, सुदूरपश्चिमसँग ९० रनले, कर्णालीसँग ७ रनले, पोखरासँग सुपर ओभरमा, र काठमाडौंसँग १ विकेटले पराजय भोग्दा लुम्बिनीमाथि २ विकेटले र चितवनमाथि ५१ रनले जित दर्ता गरेको थियो ।

आगामी योजना

‘क्रिकेटको विकासका लागि एक वर्षमा करिब १० करोड लगानी गर्न क्यानसँग अनुबन्धित भएका छौं । त्यसै आधारमा क्रिकेटको विकास र पूर्वाधार निर्माणमा लाग्नेछौं,’ प्याकुरेलले भने, ‘अबको समयमा खेलाडीलाई नियमित प्रशिक्षण दिएर वार्षिक रूपमा इभेन्ट आयोजना गर्ने, खेल पूर्वाधार निर्माणका लागि सरकारलाई दबाब दिने र त्यसको नेतृत्व लिने अभियानमा लाग्नेछौं।’

काठमाडौंको कीर्तिपुरमा मात्र सीमित रहेको क्रिकेटलाई अब गाउँगाउँमा पुर्‍याउनुपर्नेमा जोड दिँदै प्याकुरेलले भने, ‘त्यसका लागि गाउँदेखि सातवटै प्रदेशमा क्रिकेट खेल्ने मैदान निर्माण गर्नुपर्छ । हरेक प्रदेशमा होम-अवे खेल्न सकिने पिच निर्माण पहिलो आवश्यकता हो, र त्यसको व्यवस्थापनमा लाग्नुपर्नेछ ।’

विराटनगर किङ्समा पाँच विदेशीसहित १५ जना खेलाडी अनुबन्धित छन् । लुनियाले भने, ‘स्वदेशी खेलाडीलाई नियमित प्रशिक्षण दिने र नयाँ खेलाडी उत्पादन गर्ने हाम्रो अभियान सुरु हुनेछ । आगामी वर्ष उपाधि नै जित्ने लक्ष्यसहित टिम पुनः निर्माण गर्नेछौं । त्यसका लागि नयाँ खेलाडी भित्र्याउने र टिममा रहेका खेलाडीलाई निकालेको पनि हुन सक्छ ।’

पहिलो नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताले नेपालको नाम विश्वभर पुर्‍याएको छ । लुनियाले भने, ‘क्रिकेटले नेपाललाई विश्वमा चिनायो । अब त्यो विज्ञापनलाई जीवित राख्न क्रिकेटको विकासका लागि हरेक प्रदेशमा होम-अवे खेल्न मिल्ने मैदान निर्माणसँगै गाउँगाउँका ४–५ कक्षा पढ्ने बालबालिकालाई क्रिकेटमा आकर्षित गर्नुपर्छ । अनि मात्र क्रिकेटका गुणस्तरीय खेलाडी उत्पादन भएर मजबूत राष्ट्रिय टिम तयार हुनेछ । त्यसपछि मात्र विश्व क्रिकेटमा नेपालको उपस्थिति गर्विलो हुनेछ ।’

राजनीति र केही समूहले विभाजन गरेको नेपाली समाजलाई पछिल्लो समय क्रिकेटले एकतामा बाँध्न सफल भएको छ । अर्का लगानीकर्ता एवं गल्फका एम्याचोर खेलाडी समेत रहेका प्याकुरेलले भने, ‘सरकारले यसलाई ध्यान दिएर क्रिकेटको विकासमा बाधक बन्दै आएका नीतिगत अल्झन र अड्चन हटाएर लगानीमा वृद्धि गर्नुपर्छ ।’

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार ००:००  ११ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping