१४ देशमा निर्यात गरिरहेको सुजल फुड्स व्यापार ३ वर्षयताकै कम, ऋण बढ्यो « Eglish Khabarhub

१४ देशमा निर्यात गरिरहेको सुजल फुड्स व्यापार ३ वर्षयताकै कम, ऋण बढ्यो



काठमाडौं । मिठो र गुलियो मन नपराउने कमै हुन्छन् । त्यसमाथि चकलेटका परिकारहरु त झनै प्रिय हुन्छ सबैका लागि । नेपालमा ‘चकलेट’ र ‘चोकोफन’ बनाउने कम्पनी सुजल फुड्सले पनि आफ्नो ब्रान्डहरुलाईसबैको रोजाइमा पारिरहन धेरै मिहेनत गर्दै आइरहेको छ ।

कोरोना महामारीकै बेला सुजलले आफ्ना उत्पादन निर्यात सुरु गरेको थियो । सुजल फुड्स उत्पादन गर्ने माउ कम्पनी लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठका अनुसार सुजल फुडका विभिन्न उत्पादनहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया, एसिया, अफ्रिका तथा मध्यपूर्वका १४ देशमा यी उत्पादनहरू निर्यात भइरहेका छन् ।

२९ वर्ष पहिला खुलेको सुजलले ललिप, क्यान्डी, टोफिस, जेलीलगायतका चकलेटहरु उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । सन् १९९५ मा खुलेको कम्पनीको मुख्य उत्पादन भनेको चोकोफन हो । सुजल फुडले सन् १९९९ मा चोकोफन उत्पादान सुरु गरेको थियो । नेपाली बजालमा लामो समयदेखि मुख्य गरेर बालबालीकाको रोजाइमा पर्न सफल चकलेट हो चोकोफन ।

‘चोकोफन’ विश्वमै प्रतिष्ठित डिएलजी अवार्डबाट २०१७ मा सम्मानित भएको छ । जुन सेनसरी परिक्षणपछि योग्य ठहरिएको र डिएजीको कडा गुणस्तर मापदण्ड पूरा गर्ने ‘फुड एण्ड बेभरेज’लाई मात्र प्रदान गरिन्छ । अवार्ड पाएपछि निर्यात सुरु गरेको थियो ।

सुजल फुड्सले सफल ब्रान्डमा दूध पनि उत्पादन तथा बिक्री गर्दै आएको छ ।

लक्ष्मी ग्रुपको स्वामित्वमा रहेको सुजल फुसले सन् २०२४ मा १ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । यो पछिल्ला ४ वर्षयताकै कम हो । सन् २०२३ मा मम्पनीले २ अर्ब २ करोड, २०२२ मा १ अर्ब ९० करोड, २०२१ १ अर्ब ८१ करोड र २०२० मा १ अर्ब ४७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२४ मा कम्पनीले गरेको आम्दानी विगत ४ वर्ष यताकै कमजोर भएको हो । निर्यातमा फड्को मारिरहँदा पनि कम्पनीको कारोबार भने कम भएको छ । उत्पादनका लागि चाहिने कच्चा प्रदार्थको मूल्य बढेपछि कम्पनीले उत्पादन गर्ने ब्रान्डहरुको मूल्य बढाएको थियो । मूल्य बढेपछि व्यापार कम भएको हो । कम्पनीले प्रिमियम उत्पादनहरू विस्तार गर्ने योजना बनाएको छ।

व्यापार घटे पनि मूल्य बढाएका कारण कम्पनीको नाफा दर भने बढेको छ । सन् २०२३ मा आम्दानीको ६.८ प्रतिशत नाफा गरेको कम्पनीले २०२४ मा नाफादर बढाएर ८.७ प्रतिशत पुर्याएको छ ।

सुजल फुडको मुख्य स्वामित्व लक्ष्मी ग्रुपको छ । कम्पनीको मुख्य सेयरधनी गणेशबहादुर श्रेष्ठ, शुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठ छन्। पाँचै जनासँग १७-१७ प्रतिशत रहेको छ । अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन् ।

कम्पनीको ब्यापार घटे पनि ऋण भने बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले चालु पुँजी कर्जा ह्वात्तै बढाएको छ । २०२३ मा २६ प्रतिशत रहेको चालु पुँजी कर्जा २०२४ मा बढाएर ४४ प्रतिशत पुर्याएको छ । सन् २०२३ मा ८९ करोड रुपैयाँ ऋणको रेटिङ गराएको सुजलले २०२४ मा १ अर्ब रुपौयाँ ऋणका लागि रेटिङ गराएको छ । पछिल्लो रेटिङमा इक्राले कम्पनीलाई अल्पकालिन ऋणका लागि एनपी ए-२ र दिर्घकालिन ऋणका लागि एलबीबी रेटिङ दिएको छ ।

मिठाइबाट सुरु भएको व्यावसायिक यात्रा

लक्ष्मी ग्रुप वि.स २०३० साल पुस ५ गते पोखरामा मिठाइ पसलबाट खुलेको कम्पनी हो । मिठाइ बेच्नबाट सुरु गरेको कम्पनीबाट अहिले ‘लक्ष्मी ग्रुप’ ठूला व्यावसायिक घरानामा पर्न सफल भएको छ ।

लक्ष्मी ग्रुपको अध्यक्षमा गणेश बहादुर श्रेष्ठ छन् । कार्यकारी निर्देशकहरुमा सुनिल, अञ्जन, निरञ्जन र निराकार श्रेष्ठ छन् ।

लक्ष्मी सुरु भएको अहिले ५१ वर्ष पूरा भइसकेको छ । सुरुवातमा लक्ष्मी मिठाई भण्डारले स्थानीयरूपमा पुष्टकारी उत्पादन गथ्र्यो । हाल ग्रुपले मिठाईबाहेक अटोमोबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

यस ग्रुपले देशभरि ग्रुपका दुई दर्जन कम्पनी छन् । लक्ष्मी ग्रुप अन्तर्गत सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमाँ इन्टरकन्टिनेन्टल, जयमाँ लक्ष्मी टेक्नो सेन्टर रहेका छन् । आगामी दिनमा कृषि र होटल क्षेत्रमा लगानी गर्ने योजना रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

Publish on: